काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले सभापति रवि लामिछानेको मुद्दामा महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णयलाई अपराध सफाइ गरिएको जस्तो प्रचार गर्नु गलत भएको बताएकी छन्।
अधिवक्ता समेत रहेकी गौतमका अनुसार अघिल्लो सरकारले रवि लामिछानेमाथि प्रतिशोधका आधारमा आवश्यकताभन्दा बढी अभियोजन गरेको थियो। अहिलेको सरकारले सोही अभियोजनलाई संशोधन गर्दै निर्देशनात्मक र प्रतिशोधपूर्ण कदम सच्याएको उनको भनाइ छ। उनले भनिन्, “हाल महान्यायाधीवक्ता कार्यालयले अभियोजन संशोधन गरेर अघिल्लो सरकारको निर्देशनात्मक र प्रतिशोधपूर्ण अभियोजन सच्याएको हो। तर यसलाई अपराध सफाइ गरिएको जस्तो प्रचार गर्नु गलत हो।”
गौतमले उक्त निर्णयले सहकारी पीडितहरूलाई मिलापत्रमार्फत आफ्नो रकम फिर्ता पाउने कानुनी बाटो खोलेको स्पष्ट पारिन्। यसले पीडित र अभियुक्तलाई एउटै टेबलमा बसेर समाधान खोज्ने सम्भावना सिर्जना गरेको पनि उनले उल्लेख गरिन्। “सकारात्मक दृष्टिले हेर्ने हो भने, यो निर्णय पीडितको पक्षमा भएको निर्णय हो,” उनले थप भनिन्।
उनका अनुसार कानुनी प्रक्रियालाई सन्तुलित र न्यायोचित ढंगले अघि बढाउन यो कदम महत्वपूर्ण रहेको छ।