प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थान्तरणको प्रक्रिया अघि बढेको बताएका छन्। उनले अदालतको अनुमति प्राप्त भइसकेको र सरकार सुरक्षालगायत सबै पक्ष सुनिश्चित गरेर निर्णय गर्ने बताए।
गृहमन्त्रीका अनुसार लामिछानेलाई कुनै सुविधा नदिइएको तर वञ्चित पनि नगरिएको छ। जेल साँघुरो भए पनि उनलाई अलग्गै कोठामा राखिएको उनले जानकारी दिए। भौतिक पूर्वाधार अभाव र बजेटको सीमितताका कारण तुरुन्त सुधार सम्भव नभए पनि स्वास्थ्य सेवा, मनोवैज्ञानिक परामर्श, र खुला कारागार अवधारणामा सरकारले काम गरिरहेको उनले बताए।
लेखकले कैलाली कारागार छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि दोषीमाथि कानुनअनुसार कारबाही गरिने र कारागारमा हतियार प्रवेशको आरोप गलत भएको स्पष्ट पारे। साथै, गत वर्ष प्यारोलमार्फत २ हजार ७५ कैदीबन्दी छुटेको जानकारी पनि उनले दिए।