रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा रिहा गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले संविधानले दिएको हरेक अधिकारको प्रयोग गर्दै सरकारले गरेको प्रतिशोध र अन्यायविरुद्ध अन्तिमसम्म लड्ने घोषणा गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै पौडेलले लेखेकी छन्, “म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।”

आजै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको थुनामुक्ति निवेदन अस्वीकार गरेको हो। लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा गर्न माग गरेका थिए।

सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको र जमानतमा बाहिरै रहँदै मुद्दा लड्न पाउनुपर्ने लामिछानेको दाबी भए पनि अदालतले उनलाई थुनामै राख्ने आदेश दिएको छ। अदालतको निर्णयलाई पौडेलले प्रतिशोधपूर्ण कदम भन्दै सरकारमाथि गम्भीर आरोप लगाएकी छन्।