काठमाडौँ । देशको बदलिँदो राजनीतिक वातावरणबारे प्रत्यक्ष संवाद आवश्यक ठानेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका छन्। पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली साँझ ५ बजे बालुवाटार पुग्नेछ।
राप्रपाले पछिल्लो समय देशमा देखिएको अस्थिरता, राजनीतिक ध्रुवीकरण र विभिन्न पुस्ताबीचको दूरीका विषयमा औपचारिक धारणा बनाउँदै आएको छ। पार्टीले राजसंस्था, जेनजी पुस्ता र वर्तमान दलगत नेतृत्वबीच नयाँ राजनीतिक समझदारी आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई प्रत्यक्षरूपमा तथ्यहरू अवगत गराउने तयारी गरेको हो।
यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको दृष्टिकोण स्पष्ट रूपमा सुनाउने निर्णय गरेको थियो। सो बैठकले काठमाडौं उपत्यकामा मंसिर २३ गते विशाल प्रदर्शन गर्ने कार्यसूचीसमेत पारित गरेको थियो। आगामी प्रदर्शनअघि सर्वपक्षीय बैठक बोलाउनुपर्ने मागसहित राप्रपाको टोली बालुवाटार जाँदैछ।