तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन दुई दिन लम्बिँदै आज पाँचौं दिनमा सम्पन्न भएको छ। महाधिवेशन सम्पन्न भएसँगै रास्वपाको सभापतिमा रबि लामिछाने निर्विरोध चयन भएका छन् भने पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हाल्ने भएका छन्।
उपसभापतिमा पुरुषतर्फ अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् भने महिलातर्फ तोशिमा कार्कीलाई पराजित गर्दै कानुनमन्त्री सोबिता गौतम निर्वाचित भएकी छन्। साथै, रास्वपाले थप एक जना उपसभापति मनोनीत गर्ने निर्णय गरेको छ।
महामन्त्री पदमा मनीष झा, गणेश कार्की र सागर ढकाललाई पराजित गर्दै विपिन कुमार आचार्य निर्वाचित भएका छन्। यसैगरी पार्टीले थप एक जना महामन्त्री पनि मनोनीत गर्नेछ।
सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र आशिम शाह निर्वाचित भएका छन्। यस पदका लागि अन्य धेरै उम्मेदवार भए पनि यी तीन जनाले जित हात पारेका हुन्। साथै, थप दुई जना सहमहामन्त्री पनि पार्टीले मनोनीत गर्नेछ।
अब १९ सदस्यीय पदाधिकारी टोली
निर्वाचित पदाधिकारीसँगै अब पार्टीले प्रवक्तामा एक जना, सहप्रवक्तामा तीन जना, कोषाध्यक्षमा एक जना र सहकोषाध्यक्षमा दुई जना मनोनीत गर्नेछ। यसरी निर्वाचित र मनोनीत गरी अब रास्वपामा कुल १९ जना पदाधिकारी रहनेछन्।
विशेषगरी बालेन शाह पक्षका नेताहरूलाई मनोनयनमार्फत समेट्ने सहमति भएको कारण उनीहरूले अधिकांश पदमा उम्मेदवारी दिएका थिएनन्।
पार्टीभित्र दुवै नेताको शक्ति सन्तुलन कायम गर्न रबि पक्षका नेताहरू निर्वाचनबाट आएका छन् भने बालेन पक्षका नेताहरू उपसभापति, महामन्त्री तथा सहमहामन्त्री लगायतका पदमा मनोनीत भएर आउने सहमति भएको छ।
यसै महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन्। दल स्थापना भएको चार वर्ष पुग्न लाग्दा रास्वपाले पहिलो पटक आफ्नो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको हो।
विवाद, गुटबन्दी र असन्तुष्टिले भरियो महाधिवेशन
असार ७ गतेदेखि सुरु भएको महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने योजना थियो। तर, दुई पक्षबीच सहमति जुट्न नसक्दा महाधिवेशन पाँच दिनसम्म लम्बिएको हो।
फागुन २१ को निर्वाचनमा झन्डै दुईतिहाइ मत प्राप्त गरेको रास्वपाका लागि यो महाधिवेशन आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा जनतामाझ थप स्थापित गर्ने सुनौलो अवसर मानिएको थियो। तर, विभिन्न विवादका कारण त्यो अवसर पार्टीले गुमाएको छ।
पछिल्ला पाँच दिन पुराना दलहरूको महाधिवेशनभन्दा पनि बढी भद्रगोल, विवाद र झैझगडाले भरिएको देखिएको आरोप लागिरहेको छ।
भर्खरै सम्पन्न पदाधिकारी निर्वाचनमा पनि कुल प्रतिनिधिको करिब एक तिहाइले मात्र मतदान गर्न पाएका थिए। बाँकी केही प्रतिनिधिले दुई मिनेट ढिला भएको भन्दै मतदान गर्न नपाएको आरोप लगाउँदै आक्रोश व्यक्त गरिरहेका छन्।
महाधिवेशनमा विधि मिचिएको आरोप लगाउँदै पार्टीका प्रभावशाली नेताहरू तथा रास्वपाबाट निर्वाचित कैयौँ सांसदहरूले सामाजिक सञ्जालमार्फत खुला रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।
महाधिवेशन उद्घाटनका दिन सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाहले गुटबन्दी नगर्न सबैलाई आग्रह गरेका थिए।
तर, पदाधिकारी निर्वाचनअघि कविन्द्र बुढालाकोटी, गणेश पराजुलीलगायतले उम्मेदवारी फिर्ता लिँदै विपिन कुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेपछि अर्का उम्मेदवार गणेश कार्कीले सभापति र वरिष्ठ नेताको भनाइविपरीत गुटबन्दी गरिएको आरोप लगाए।
सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी, समावेशितामाथि पनि प्रश्न
रास्वपाको महाधिवेशनमा देखिएको विवाद कार्यक्रमस्थलमै सीमित रहेन।
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने पूजा बास्तोलाले आफूले बढी मत प्राप्त गर्दा पनि केन्द्रीय सदस्यको सूचीमा नाम नआएको, आफूभन्दा कम मत ल्याएकाहरूको नाम समावेश गरिएको आरोप लगाएकी छन्।
उनले यसबारे पार्टीको निर्वाचन आयोगमा उजुरी दिँदा उल्टै धम्की आएको दाबी गर्दै अब सर्वोच्च अदालत जाने घोषणा सामाजिक सञ्जालमार्फत गरेकी छन्।
यसैबीच हाल निर्वाचित सभापतिदेखि अधिकांश पदाधिकारीसम्म ब्राह्मण र क्षेत्री समुदायबाट मात्रै प्रतिनिधित्व भएको भन्दै दलित तथा जनजाति समुदायको प्रतिनिधित्व नसमेटिएको आलोचना पनि भइरहेको छ।
यद्यपि, अहिले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम जारी रहेको छ।