आगामी प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र केही नेता तथा सदस्यहरूले आफू उम्मेदवार बन्ने अभिव्यक्ति सार्वजनिक गर्न थालेको विषयमा पार्टीले औपचारिक रुपमा प्रतिक्रिया जनाएको छ। मंगलबार उम्मेदवार छनोट समितिले वक्तव्य जारी गर्दै अधिकारिक निर्णयभन्दा अघि सार्वजनिक रूपमा उम्मेदवारी संकेत गर्ने वा आफू आकांक्षी भएको बताउने गतिविधिले अनावश्यक भ्रम सिर्जना गरेको बताएको हो।
समितिको भनाइअनुसार, रुपन्देही–३ बाहेक देशभरका कुनै पनि प्रतिनिधिसभा क्षेत्रका लागि पार्टीले अहिलेसम्म आधिकारिक उम्मेदवार तय गरेको छैन। बाँकी सबै ठाउँमा चयन प्रक्रिया सञ्चालनमै रहेको स्पष्ट गरिएको छ। समितिले भनेको छ, “पार्टीले पारित गरेको विधि र रूपरेखाअनुसार मात्र उम्मेदवार टुंगो लाग्नेछ।
त्यसअघि विभिन्न तहबाट आउने अपुष्ट दाबी, प्रचार वा अनुमानले संगठनमा असमझदारी बढाउने भएकाले सबैले संयमता अपनाउनु आवश्यक छ।” रास्वपाले भ्रम फैलाउने खालका अभिव्यक्ति वा गतिविधि नगर्न–नगराउन नेता, सदस्यदेखि शुभेच्छुकसमेत सबैलाई आग्रह गरेको छ। पार्टीले अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक अभ्यासमा भरोसा राख्न अपिल गर्दै उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष रूपमा अघि बढ्ने विश्वास दिलाएको छ।