काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन्।

राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएका बेथितिप्रति असन्तुष्टि जनाउँदै आफू विवेक र इमानको आधारमा पार्टीमा बसिरहन नसकेको उल्लेख गरेका छन्। “सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,” उनले पत्रमा लेखेका छन्।

राणाले पार्टीको आन्तरिक अभ्यास र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै, आन्तरिक लोकतन्त्र सुदृढ गर्न नसक्ने पार्टीले सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्नेमा आफू विश्वस्त हुन नसकेको बताएका छन्। उनले अन्धभक्ति गर्न नचाहेको पनि स्पष्ट पारेका छन्।

पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति राणा असन्तुष्ट रहँदै आएका थिए। उनले प्राइमरी चुनावमा सधैं ५० प्रतिशतसम्म चलखेलको बाटो खुला राखिएको आरोप लगाएका छन्। साथै, विशेष परिस्थितिको नाममा संगठनको आफ्नै नेतृत्व छान्ने अधिकार समेत खोसिएको दाबी गरेका छन्।

त्यस्तै, उनले १ हजार रुपैयाँ सदस्यता शुल्कबाट ३०० पालिकामा रकम पुग्ने भनिए पनि त्यो कार्यान्वयन नभएको उल्लेख गरेका छन्। प्राइमरी प्रक्रियाका लागि उठाइएको ठूलो रकममा आर्थिक अपारदर्शिता र सम्भावित अपचलन देखिएको आरोप समेत राणाले लगाएका छन्।

राणाको राजीनामासँगै रास्वपाभित्रको आन्तरिक व्यवस्थापन र पारदर्शिताको विषय पुनः चर्चामा आएको छ। यस विषयमा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।