रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडक खण्डमा शनिबार राति सुटकेशभित्र भेटिएकी मृत महिला २६ वर्षीया रुवी साह सुडी रहेकी छिन्। भारतमा विवाह गरेर मुजफ्फरपुर बस्ने श्रीमानसँग अलग बस्दै आएकी रुवी छोरा पढाउन भनेर गौर–२ महादेवपट्टिमा डेरा लिएर आमासँगै बस्दै आएकी थिइन्। हरेक दिन जस्तै सामान्य जीवन बिताइरहेकी रुवीले शनिबार साँझ करिब ४ बजे आमालाई भनिन्—“किनमेल गरेर आउँछु, चाँडै फर्कन्छु।”तर, उनी कहिल्यै फर्किनन्।

राति करिब साढे ८ बजेतिर डेराभन्दा ३ किलोमिटर टाढा शंकास्पद अवस्थामा सुटकेश भेटिएको खबर फैलियो। प्रहरी पुगेपछि बिहान सुटकेश खोल्दा रुवीको शव भेटियो। प्रहरीका अनुसार उनको कुहिनो र घुँडा जोडेर शव सुटकेशमा प्याक गरिएको थियो। नाकबाट रगत बगेको भए पनि शरीरमा अन्यत्र गहिरो चोटपटक भने देखिएको छैन।

रुवीको माइतीघर माधवनारायण नगरपालिका–६ मा पर्छ। मधेस प्रदेश प्रहरीका डीआईजी उमा चतुर्वेदीका अनुसार अन्यत्र हत्या गरेर गौर–सिरसिया सडक खण्डमा ल्याएर शव फ्याँकिएको अनुमान गरिएको छ। हाल प्रहरीले उनको व्यक्तिगत सम्बन्ध, रिसिइवी वा अन्य कारणबारे अनुसन्धान थालेको छ। शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ।