दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा मार्की तथा कप्तान सन्दीप लामिछानेको जादुई बलिङको बलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै शानदार तेस्रो जित दर्ता गरेको छ। यससँगै विराटनगर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

१३६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमै रोकियो। सुरुबाटै दबाबमा परेका जनकपुरका ब्याटरले ओपनर आशिफ शेख (१३) र कप्तान अनिल शाह (४) सहित शीर्ष क्रममै विकेट खसाए। लाहिरू मिलान्था २३ रनमा सन्दीपकै बलमा बोल्ड हुँदा जनकपुर १० ओभरमै ६१/३ मा सीमित भयो।

१५ र १६ औं ओभरमा आक्रमक रन जोड्दै जनकपुर खेलमा फर्कन खोजेकै बेला १८ औं ओभरमा सन्दीपले खेलको दिशानै फेरे। उनले वाइडबाट १ रन मात्र दिएर रुपेश सिंह (८) र संगिथ (०) लाई आउट गर्दै जनकपुरको चुनौती कमजोर पारिदिए।

अन्तिम १२ बलमा २३ रन चाहिएको जनकपुरले प्रतिश जिसीको अन्तिम ओभरमा ७ रन मात्र जोड्यो। ४१ रन बनाएका लोफ्टी रन–आउट हुँदा जनकपुरको आशा समाप्त भयो। सन्दीपले ४ ओभरमा ११ रन मात्रै दिँदै ४ विकेट लिए। सूर्य तामाङले २ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटमा १३५ रन बनाएको थियो। निरन्तर स्पिन आक्रमणका कारण टप अर्डर चल्न सकेन। शुभम रञ्जानले ३७ रन र बसिर अहमदले ३६ रनको योगदान दिए। जनकपुरका रूपेश सिंह र संगीथले २–२ विकेट लिए।

यो हारसँगै जनकपुरले लगातार दोस्रो पराजय बेहोरेको छ। आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ।