सप्तकोशीमा पानीको बहाव अत्यधिक बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ। कोशी ब्यारेजमा हाल पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक पुगेको जनाइएको छ। पानीको सतह पुलसम्म आइपुगेपछि सवारीसाधन र मानिसको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

उच्च सतर्कता अपनाउँदै ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ। प्रशासनले सप्तरी र सुनसरी दुवैतर्फबाट ब्यारेजमा ढाँट लगाएर आवागमन रोक्दै जोखिमपूर्ण क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।

गत वर्षको असोजमा बहाव ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो, जुन सन् १९६८ यताकै सबैभन्दा बढी थियो। त्यस्तै, सन् १९८७ मा पनि ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक पानी मापन गरिएको थियो। हालको अवस्था निरन्तर निगरानीमा राखिएको छ र अधिकारीहरूले जनतालाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्।