काठमाडौँ — नेकपा (एमाले) की सचिव तथा ११औँ महाधिवेशन प्रचार समितिकी संयोजक पद्मा अर्यालले पार्टीभित्र उत्पन्न बहस र असमझदारीका बीच अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अहिले पनि सबैभन्दा प्रभावकारी विकल्प भएको बताएकी छन्। च्यासलस्थित पार्टी कार्यालयमा बसेको प्रचार समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई वर्तमान अस्थिरताबाट निकाल्न ओलीकै नेतृत्व आवश्यक रहेको धारणा राखिन्।
अर्यालका अनुसार महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व सम्बन्धी बहस स्वाभाविक भए पनि अहिलेको संवेदनशील राजनीतिक माहोलले स्थिर, अनुभवी र दिशा दिन सक्ने नेतृत्वको माग गरिरहेको छ। “पार्टी जोगाउने, राष्ट्रियता सुदृढ गर्ने र वर्तमान चुनौतीसँग लड्न सक्षम नेतृत्व अहिले केपी ओलीको व्यक्तित्वमा नै देखिन्छ,” उनले भनिन्।
हाल देशले सामना गरिरहेको राजनीतिक तनाव, दलगत द्वन्द्व र संविधान कार्यान्वयनमा देखिएका अवरोधलाई उल्लेख गर्दै अर्यालले पार्टीभित्र आन्तरिक समन्वय र विश्वास अझ मजबुत बनाउनुपर्ने धारणा राखिन्। उनका अनुसार संगठनका सबै तहमा एकताको ऊर्जा बढे मात्र एमालेले देशसमक्ष देखिएका चुनौतीको समाधान दिन सक्छ।
उनले पार्टी नेतृत्वलाई सहयोग, संयमता र अनुशासनमा थप ध्यान दिन आग्रह गर्दै भनिन्, “अराजनीतिक टिप्पणी र अस्वस्थ अभिव्यक्तिले संगठन बलियो हुँदैन। सबैले मिलेर पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको प्राथमिकता हो।” बैठकमा उनले आगामी ११औँ महाधिवेशनबाट अध्यक्ष ओली नै पुनः अनुमोदित हुने विश्वास पनि व्यक्त गरिन्। उनका अनुसार सहमतिको मार्गबाट नेतृत्व निर्माण हुन सके पार्टी अझ स्थिर र विश्वासिलो बन्नेछ।
देश ‘अभूतपूर्व संकट’मा रहेको बताउँदै उनले थपिन्, “राष्ट्र, राष्ट्रवाद र संविधानको रक्षा गर्न सक्षम र दृढ नेतृत्व चाहिएको छ। ओलीको भूमिकाले अहिले त्यो आवश्यकता पूरा गर्न सक्छ भन्नेमा म विश्वस्त छु।” अर्यालका अनुसार महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने र भावी राजनीतिक मार्गचित्रलाई स्पष्ट बनाउनेछ।