काठमाडौं — हामी नेपालका संस्थापक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ‘एकता संवाद’ सुरू गर्न भेट गर्ने तयारी गरेका छन्। गुरुङले  नख्खु कारागार पुगेर लामिछानेसँग विचार–विमर्श गर्ने बताइएको छ। गुरुङले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिँदै, अहिलेको राजनीतिक वातावरणमा नयाँ प्रकारको सहकार्यको सम्भावनालाई परीक्षण गर्ने समय आएको उल्लेख गरेका छन्।

केही दिनअघिको मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीचको भेटका तस्वीर सार्वजनिक भएपछि, वैकल्पिक राजनीतिक धारहरूबीच नयाँ समीकरण बन्ने संकेतबारे व्यापक बहस सुरु भएको थियो। त्यही प्रसंगलाई जोड्दै गुरुङले आफूहरूले गरेको प्रतिबद्धता अनुसार विभिन्न व्यक्तित्वसँग संवाद विस्तार गर्दै जाने उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “बालेन र कुलमानको भेटपछि हामीले घोषणा गरेको एकता अभियानलाई अघि बढाउँदै आज रवि लामिछानेसँग पनि संवाद गरिँदैछ। उहाँको दृष्टिकोण सुन्नेछौं र आवश्यक विषयमा खुलेर छलफल गर्नेछौं।” गुरुङको यो कदमसँगै वैकल्पिक शक्तिहरूबीच विस्तारित सहकार्य वा नयाँ मोर्चाको सम्भावनाबारे राजनीतिक विश्लेषकहरूले चासो देखाइरहेका छन्।