सुनसरी, जेठ २३ – सुनसरीको सप्तकोशी नदीमा बिहीबार विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय उद्धार टोलीले झापा घर भएका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव केहीबेर अघि सप्तकोशी नदीको किनारमा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार राजवंशीको शव भेटिए पनि अर्का बेपत्ता प्रहरी जवान सुरज साउदको खोजी कार्य भने जारी नै छ । डोटी घर भएका साउद बिहीबार उद्धार अभ्यासकै क्रममा बेपत्ता भएका थिए । घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाहरू समेत परिचालनमा छन् । उद्दार कार्य अझै पनि तीव्र रूपमा अगाडि बढाइएको छ ।
प्रशिक्षणको सिलसिलामा यति ठूलो दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्थानीयबासीले सुरक्षाकर्मीहरूको सुरक्षाका उपाय अझ मजबुत बनाउनु पर्ने माग गरेका छन् ।