ढाका, बंगलादेश – बंगलादेशको एक विद्यालयमा लडाकु विमान दुर्घटनाग्रस्त भएर फैलिएको भीषण आगलागीमा परी शिक्षिका महरीन चौधरीले कम्तीमा २० जना बालबालिकाको ज्यान जोगाउँदै आफूले भने शहादत प्राप्त गरेकी छिन्। यो हृदयविदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ भने महरीनको अदम्य साहस र मानवताको विश्वभर प्रशंसा भइरहेको छ।

घटनाका बेला विद्यालय आगोले पूर्ण रूपमा ढाकिसकेको थियो। तर, आफ्नो ज्यानको कुनै प्रवाह नगरी शिक्षिका महरीन एकपछि अर्को गर्दै बालबालिकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न लागि परिन्। यसै क्रममा उनका श्रीमान्ले फोन गरी उनलाई बाहिर निस्कन र आफ्ना छोराहरूको ख्याल गर्न आग्रह गर्दा महरीनले भनिन्, “यी पनि मेरै छोराछोरी हुन्।”असि प्रतिशत शरीर जलिसकेको गम्भीर अवस्थामा समेत उनले बालबालिकालाई बचाउने कार्य जारी राखिन्। अन्ततः, उनले आफ्नो ज्यान गुमाइन्।

महरीन चौधरीले आफ्नो ज्यान र परिवारको चिन्ता नगरी देखाएको यो अनुपम साहस र मानवताको उदाहरणले सम्पूर्ण विश्वलाई प्रेरित गरेको छ। यतिबेला दिवंगत शिक्षिका महरीनको मानवता र निस्वार्थ सेवाको चर्चा र तारिफ भइरहेको छ।