नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी पुरुष टी–२० विश्वकपमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई पराजित गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

बिहीबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा रहेको बिसिसिआई भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले पछिल्लो समय बलिया राष्ट्रसँग खेल्दै आएको अनुभवले टोलीको आत्मविश्वास बढेको बताए। उनका अनुसार नेपाल यसपटक विश्वकपमा टेस्ट राष्ट्रविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

रोहितले भने, “हामीले पछिल्ला वर्षहरूमा टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छौँ। त्यसैले अब विश्वकपमै उनीहरूलाई हराउन सक्ने विश्वास छ।”
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप सहभागिता जनाएको थियो। यस संस्करणमा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ दुईपटकको च्याम्पियन वेस्ट इन्डिज, एकपटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले प्रतियोगिताको पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने तालिका छ।

कप्तान रोहितले यो विश्वकप नेपाली क्रिकेटका लागि भविष्य निर्माण गर्ने अवसर पनि भएको उल्लेख गरे। उनले भने, “सन् २०१४ मा हामी विश्वकप हेर्ने अवस्थामा थियौँ, आज आफैं खेलिरहेका छौँ। यस विश्वकपपछि अझ धेरै नयाँ खेलाडी अघि आउने विश्वास छ।”

पत्रकार सम्मेलनमा रोहितले सम्पूर्ण टोलीले देशलाई गौरवान्वित बनाउने उद्देश्यका साथ प्रतिस्पर्धा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।