उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्दै देशमा सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष घिसिङले निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले नयाँ सरकारले गर्ने सकारात्मक कामको समर्थन गर्ने र गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने स्पष्ट पारे। घिसिङले चुनावमा हारलाई प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै परिणामबाट निराश नहुन आग्रह गरेका छन्। उनले उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले विषम परिस्थितिका बाबजुद पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन्। वक्तव्यमा घिसिङले आफूहरू काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको उल्लेख गर्दै लोडसेडिङ अन्त्यजस्ता कामबाट जनताको मन जितेको तर यसपटक मतमा जित हासिल गर्न नसकेको बताए।
उनले भने, “चुनावको परिणामले निराश बनाएको छैन। छोटो समयमै जनअभिमतमार्फत प्राप्त माया, विश्वास र सद्भावले उज्यालो नेपाल निर्माणको यात्रामा थप ऊर्जा र मार्गदर्शन दिएको छ।”