सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफ यात्रालाई बलियो बनाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमै पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डार्शी सर्टले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। उनले ४४ बलमा ५७ रन बनाउँदै ६ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर सुमित महर्जन ११ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल डक आउट हुँदै पवेलियन फर्किए। सुमित र रोहित पौडेल दुवैलाई विराटनगरका सुवास भण्डारीले एकै ओभरमा शिकार बनाए। उनले पाँचौ ओभरको पहिलो बलमा सुमितलाई विकेटकिपर साहिल पटेलबाट स्टम्पिङ गराए भने चौथो बलमा रोहितलाई फाफ डु प्लेसिसबाट क्याच गराए।
जितसँगै लुम्बिनी ६ खेलमा ३ जितसहित ६ अंक जोड्दै शीर्ष चारमै स्थान बनाउँदै प्लेअफको आशा कायमै राख्न सफल भयो। अब अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सको सामना गर्नेछ, जहाँ जित निकालनै उसको लागि अनिवार्य छ।
यता विराटनगरले भने ४ जित र ३ हारसहित ८ अंक बनाएको छ। अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग भिड्दै गर्दा हार भए पनि रनरेटको आधारमा प्लेअफमा पुग्ने सम्भावना बाँकी छ।
एनपिएलमा बढ्दो प्रतिस्पर्धासँगै अब अन्तिम खेलहरूले प्लेअफको तस्वीर स्पष्ट पार्नेछन्।