गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्राथमिक लक्ष्य नै समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पिनु रहेको स्पष्ट पारेका छन्। चुनाव हुँदैन भन्ने हल्ला फैलाएर राजनीतिक अस्थिरता सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

गण्डकी प्रदेश स्तरीय सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले निर्वाचनप्रति अविश्वास फैलाउने गतिविधिले सुशासन र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने चेतावनी दिए। “निर्वाचनबाट पन्छिने र चुनाव रोकिन्छ भन्ने भ्रम सिर्जना गर्ने कार्य कुनै पनि कोणबाट उचित हुँदैन,” उनले भने।

राजनीतिक दलहरूले उठाउँदै आएको फरार कैदीबन्दी र लुटिएका हतियारसम्बन्धी विषयलाई सरकारले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको गृहमन्त्रीको भनाइ छ। उनले यस विषयमा गृह प्रशासन सक्रिय र संवेदनशील रूपमा काम गरिरहेको जानकारी दिए।

सरकार संवाद र वार्ताका लागि सधैँ खुला रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले फरार कैदीबन्दीमध्ये करिब ७० प्रतिशत फिर्ता भइसकेको र बाँकी पनि क्रमशः आत्मसमर्पणको प्रक्रियामा रहेको बताए। गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका जिल्ला प्रमुखहरू सहभागी गोष्ठीमा गृहमन्त्रीले सुरक्षा निकायलाई आवश्यक व्यावसायिक स्वतन्त्रता र स्वायत्तता प्रदान गरिएको बताए।

साथै कार्यसम्पादनको मूल्यांकनका लागि निगरानी संयन्त्रलाई प्रभावकारी बनाइएको जानकारी दिए। स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भइसकेको र सोही योजना अनुसार सुरक्षा संयन्त्र परिचालन गरिएको उनले बताए।

फागुन २१ गते तोकिएको निर्वाचन मिति अनुसार कार्यतालिका सार्वजनिक भइसकेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको दोहोर्‍याए। सरकार गठन भएको तीन महिनाभित्रै देशको अवस्था धेरै हदसम्म सामान्य भएको दाबी गर्दै उनले क्षतिग्रस्त सरकारी संरचना र कार्यालयहरू पुनःस्थापना गरी सेवा प्रवाह सुरु गरिएको जानकारीसमेत दिए।