काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले आफ्नो देशव्यापी ‘एकता सन्देश अभियान’ अन्तर्गत आज बिहान कोशी प्रदेशमा विशेष सभा आयोजना गर्दैछ। मोरङको विराटनगरमा हुने यो कार्यक्रमलाई केन्द्रीय नेतृत्वसहित प्रदेशका प्रमुख पार्टी पदाधिकारीहरूले सम्बोधन गर्ने तयारी गरिएको छ।
विराटनगरमा बन्न लागेको ठूलो भीडलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरूले एकता र आगामी राजनीतिक दिशाबारे स्पष्ट सन्देश दिनेछन्। कात्तिक १९ गते विभिन्न वाम घटकहरू एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेसँगै, पार्टीले संरचनागत एकता मजबुत बनाउन प्रदेशस्तरीय सभा सुरू गरेको छ।
यस अभियानको पहिलो कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न भएको थियो, जहाँ ठूलो जनसमागम देखिएको थियो। त्यसपछि शनिबार लुम्बिनी प्रदेशको सन्देश सभा दाङ–लमहीमा आयोजना भयो। आइतबार गण्डकी प्रदेशको सभा पोखरामा सम्पन्न भएसँगै पार्टी टोली आज कोशी प्रदेशमा पुगेको हो। आगामी दिनहरूमा विभिन्न प्रदेशमा यसरी सभा जारी हुने कार्यक्रम बनाइएको छ।
पार्टीका अनुसार अर्को चरणका कार्यक्रम यसप्रकार छन्–
-
मंसिर १६: उपत्यका विशेष प्रदेश
-
मंसिर १८: कर्णाली प्रदेश
-
मंसिर २०: मेधस प्रदेश
-
मंसिर २१: प्रवास विशेष प्रदेश
-
मंसिर २२: संघीय सम्पर्क समन्वय प्रदेश
-
मंसिर २३: बागमती प्रदेश
नेकपाका अनुसार यी सभाहरूले नवगठित पार्टी संगठनलाई बलियो बनाउने, कार्यकर्तालाई एकीकृत दिशानिर्देश दिने र आगामी राजनीतिक यात्राको साझा रोडम्याप प्रस्तुत गर्ने उद्देश्य राखिएको छ।