काठमाडौँ — नेकपा (एमाले) ले आफ्नो ११ औं महाधिवेशनका लागि तयार गरेको लोगो आइतबार सार्वजनिक गर्ने भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोगो विमोचन गर्ने सचिवालय स्रोतले जानकारी दिएको छ।
आसन्न महाधिवेशनलाई लक्षित गर्दै लोगो, नारा र समग्र कार्यक्रम व्यवस्थापन अब अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ। एमालेको ११ औं महाधिवेशन मंसिर १७, २८ र २९ गते तीन चरणमा सम्पन्न हुने छ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ।
पार्टीले विभिन्न विभाग तथा कमिटी मार्फत प्रतिनिधि व्यवस्थापन, बसोबास, सुरक्षा तथा परिवहनलगायतका तयारीलाई तीव्र बनाइसकेको बताइएको छ। आगामी रणनीति र राजनीतिक अभियानलाई केन्द्रमा राख्दै एमालेले महाधिवेशनको नारा तय गरेको छ।
पार्टीका नेताहरूका अनुसार यो नाराले अब बन्ने नेतृत्वको भूमिका, राष्ट्रिय राजनीति प्रति एमालेको दृष्टिकोण र आगामी पाँच वर्षको दिशानिर्देशलाई संकेत गर्छ। पार्टी भित्रका स्रोतका अनुसार लोगो सार्वजनिक कार्यक्रमलाई महाधिवेशनको औपचारिक काउन्टडाउनका रूपमा हेरिएको छ। एमालेले युवा, नागरिकसमुदाय र देशव्यापी संरचनालाई लक्षित गर्दै उत्साहपूर्ण वातावरण बनाउने उद्देश्य राखेको छ।