अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको राजधानी तेहरानका एक करोड जनतालाई शहर खाली गर्न चेतावनी दिएका छन्। इजरायलले इरानमाथि आक्रमण तीव्र बनाएका वेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आक्रमणलाई ट्रम्पले निरन्तर समर्थन जनाउँदै आएका छन्। केही दिनअघि इजरायली सेनाले तेहरानको एक क्षेत्रमा सूचना जारी गर्दै सर्वसाधारणलाई क्षेत्र खाली गर्न भनेको थियो। ट्रम्पको चेतावनीले त्यसैको प्रतिध्वनि झल्काउँछ।

ट्रम्प हाल क्यानडामा आयोजित जी–७ शिखर सम्मेलनमा सहभागी हुन गएका बेला उनले आफ्नो ट्रुथ सोसलमा यो सन्देश लेखेका हुन्। उनले किन तेहरान छाड्नुपर्ने भन्नेबारे विस्तृत खुलासा भने गरेका छैनन्। पत्रकारहरूसँग बोल्दै उनले “देश फर्किएपछि केही हुने” संकेत गरेका थिए, जसले इजरायल–इरान युद्धविरामसम्बन्धी अड्कल बढाएको थियो। तर, ट्रम्पले जी–७ बाट छिटो फर्किएको कारण इरान–इजरायल तनावसँग सम्बन्ध नभएको स्पष्ट पारेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले युद्धविराममा सहजीकरण गरिरहेको भन्दै ट्रम्पको फिर्तीलाई त्यससँग जोडेकोमा ट्रम्पले ती भनाइलाई खारेज गर्दै भने, “त्योभन्दा ठूला कुरा हुँदैछ, प्रतिक्षा गर्नुहोस्!”

ट्रम्पको यस चेतावनीमा चीनले कडा आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “आगोमा घिउ खन्याउनेजस्ता धम्कीहरूले शान्तिको प्रयासलाई कमजोर बनाउँछ।” उनले इजरायलमाथि प्रभाव भएका मुलुकहरूलाई तनाव कम गर्न र द्वन्द्व फैलिन नदिन आग्रह गरे। इजरायल–इरान तनावले वैश्विक शक्तिहरूबीच समेत कूटनीतिक रस्साकस्सी बढाएको छ। ट्रम्पको चेतावनीले युद्धको सम्भावनालाई झन गहिर्याएको चिन्ता अन्तर्राष्ट्रिय समुदायमा फैलिएको छ।