अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। राष्ट्रपति ट्रम्पले उक्त तस्बिर आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका हुन्।
सोमबार पोस्ट गरिएको तस्बिर विकिपिडियाको स्क्रिनसटजस्तै देखिने स्वरूपमा रहेको छ। तस्बिरमा ट्रम्पको आधिकारिक फोटो प्रयोग गरिएको छ भने त्यसको तल पदसम्बन्धी विवरण उल्लेख गरिएको छ। तस्बिरमुनि ट्रम्पलाई अमेरिकाको ४५औँ र ४७औँ बहालवाला राष्ट्रपति का रूपमा उल्लेख गरिएको छ भने भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको रूपमा जनवरी २०२६ देखि जिम्मेवारी सम्हालेको संकेत गरिएको छ।
उक्त तस्बिर कुनै पनि क्याप्सनबिना पोस्ट गरिएको भए पनि सामाजिक सञ्जालमा तीव्र रूपमा सेयर भइरहेको छ। केही सञ्चार माध्यमहरूले भने हाल भेनेजुएलामा विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै उक्त तस्बिर डिजिटल रूपमा परिमार्जन गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि तनाव बढिरहेको अवस्थामा यो तस्बिर सार्वजनिक भएको हो। अमेरिकाले जनवरी ३ मा भेनेजुएलामाथि ठूलो मात्रामा सैन्य आक्रमण गरेको र त्यसक्रममा राष्ट्रपति निकोलस मदुरो तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ। त्यसपछि आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि शासन गर्ने दाबीसमेत गरेका थिए।
मदुरोलाई लागुऔषध कारोबार र आतङ्कवादसम्बन्धी मुद्दामा हाल न्युयोर्कस्थित कारागारमा राखिएको बताइएको छ। ट्रम्पको पछिल्लो सामाजिक सञ्जाल पोस्टले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक वृत्तमा थप बहस र चासो उत्पन्न गरेको छ।