काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू व्यक्तिगत इच्छाले नभई राष्ट्रिय आवश्यकता र नेतृत्वको आग्रहका आधारमा सरकारमा सहभागी भएको बताएका छन्। काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारमा सुरुआतमा नजाने अडान राखेको भए पनि प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहपछि जिम्मेवारी सम्हालेको स्पष्ट पारे।
घिसिङले संकटको समयमा तीन महिनामै उल्लेखनीय ‘डेलिभरी’ दिएको दाबी गर्दै भने, “संकटको बेलामा जिम्मेवारी लिएर छोटो अवधिमै काम गरेर चुनावको वातावरण बनाएर बाहिरिएका छौँ।” आफूलाई ‘भगौडा मन्त्री’ भनेर गरिएको आलोचनाप्रति असन्तुष्टि जनाउँदै उनले छोटो अवधिमा परिणाम देखाएरै सरकारबाट बाहिरिएको जिकिर गरे। ऊर्जा क्षेत्रको अनुभव स्मरण गर्दै उनले देशबाट लोडसेडिङ हटाएको उल्लेख गरे। “देशबाट लोडसेडिङ हटाएँ, अब राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आएको छु,” उनले भने। राजनीतिक अस्थिरता र अवरोध अन्त्य नगरेसम्म देशको समग्र विकास सम्भव नभएको उनको भनाइ थियो।
घिसिङले आगामी निर्वाचनलाई परिवर्तन र परिणाममुखी शासन स्थापनाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै आर्थिक समृद्धिको स्पष्ट लक्ष्यसहित आफू अघि बढिरहेको बताए। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।