नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत पदाधिकारी चयनको प्रक्रिया तीव्र भइरहँदा अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहमा एक महत्वपूर्ण परिवर्तन देखिएको छ। सचिव पदका लागि नाम फाइनल भइसकेका नेता लेखराज भट्टले अन्ततः आफू उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका हुन्।
पूर्वमाओवादी पृष्ठभूमिका भट्टको यो घोषणासँगै ओली समूहले सचिव पदमा अर्को नाम अघि सार्नुपर्ने भएको छ। यसअघि ओलीले आफ्नो प्यानलबाट पदाधिकारीहरूको नाम लगभग टुंग्याइसकेका थिए। ओली समूहबाट उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम तय भएको छ।
महासचिव पदमा आकांक्षा राखेका ज्ञवालीलाई अन्ततः उपाध्यक्षमा सहमत गराइएको बताइन्छ। महासचिवमा भने शंकर पोखरेलको नाम अन्तिम रूपमा फाइनल भएको छ, जुन ओलीको प्राथमिक रोजाइसमेत रहेको नेताहरूले बताएका छन्। उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम अघि सारिएको छ।
सचिव पदमा नौ जना निर्वाचित हुने व्यवस्थाअनुसार ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम पक्का भइसकेको छ। अब लेखराज भट्टको स्थानमा को आउने भन्ने विषयले पार्टीभित्र थप चासो पैदा गरेको छ।