नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा साँझ ५ बजेसम्म ८०२ मत खसेको छ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा बिहान ९ः१२ बजेदेखि सुरु भएको मतदानमा हालसम्म ८०२ प्रतिनिधिले मतदान गरिसकेको एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार मतदानमा एक जना मतदाताले छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ५ मिनेटसम्म समय लगाएका छन्। औसतमा एक मतदातालाई २५ देखि ३० मिनेट समय लाग्ने गरेको उनले बताए।

उपाध्यक्ष पोखरेलका अनुसार साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न दिने व्यवस्था गरिएको छ। लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ। एमालेको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। आयोगका अनुसार मतदान सकिएको करिब दुई घण्टाभित्र परिणाम सार्वजनिक गरिनेछ। महाधिवेशनमा कुल २ हजार २६३ जना मतदाता सहभागी छन्।