बिराटनगर — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेको राजनीतिक चरित्रमाथि कडा टिप्पणी गरेका छन्। सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभामा बोल्दै उनले एमाले ‘जहाँबाट फाइदा हुन्छ त्यहीसँग मिल्ने’ प्रवृत्तितर्फ उन्मुख भएको दाबी गरे।

उनका अनुसार कुनै पनि मूल्यमा सरकारको शीर्ष पदमा पुग्ने मनसायलाई एमालेले प्रमुख राजनीतिक लक्ष्य बनाएको छ, जसले क्रान्तिकारी आन्दोलनको आधारभूत मर्मलाई नै कमजोर बनाइदिएको छ। खनालले भने, “सत्ता समात्न जोसुकैसँग हात मिलाउने शैली क्रान्तिको बाटो कहिल्यै हुन सक्दैन।”

नेपालमा पटक–पटक कम्युनिस्ट नेतृत्वमा सरकार बने पनि भूमिसुधार र कृषि रूपान्तरणको एजेन्डा अघि बढ्न नसकेको खनालले खुलेर स्वीकार गरे। उनका अनुसार संविधान र पार्टीका महाधिवेशनहरूमा कृषि क्रान्तिको घोषणा गरिए पनि सरकार चलाउने बेला ती प्रतिबद्धता प्रायः ओझेल परिरहेका छन्।

खनालले कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रणाली सरकार बनाउन नसकेसम्म कृषकको अवस्था उकासिन नसक्ने बताए। उनले जोड दिए, “भूमिसुधार र कृषि क्रान्ति अब नेपाली कम्युनिस्ट पार्टीको अनिवार्य प्रतिवद्धता हुनैपर्छ।” देशमा उद्योग र रोजगारीका अवसर अभाव भएका कारण ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको खनालले उल्लेख गरे।

उनले युवा खाडी मुलुकदेखि कोरिया र जापानसम्म रोजगारी खोज्दै जानुपर्ने अवस्थालाई राज्यको नीतिगत असफलता भन्दै टिप्पणी गरे। खनालकाे भनाइमा, “नेपाली युवालाई देशमै अवसर दिने खालको औद्योगिकीकरणको यात्रा अब तुरुन्त सुरू गर्नुपर्ने बेला आइसकेको छ।”

पार्टी एकताबारे बोल्दै उनले संख्या मात्रै बढाएर वा समूहहरूलाई जोडेर एकता सफल नहुने स्पष्ट पारे। मार्क्सवाद–लेनिनवादलाई साझा वैचारिक आधार बनाउँदै १६ वटा वाम घटकहरू एकत्रित भएको उल्लेख गर्दै उनले भने, “एकता सिद्धान्तिक स्पष्टता र नीतिगत समानताबाट बन्छ, बाह्य मिलापले होइन।”

खनालले नेपाली विशेषताको समाजवादलाई पार्टीको दीर्घकालीन लक्ष्य बताउँदै निर्वाचनलाई क्रान्तिकारी ढंगले उपयोग गर्नुपर्ने मत व्यक्त गरे। उनले कार्यकर्तालाई आगामी निर्वाचनमा पार्टीलाई जिताउन जुट्न निर्देशन पनि दिए।