नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनाले पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट देखाउन थालेको छ। अहिलेसम्म सार्वजनिक भएका प्रारम्भिक नतिजाले अध्यक्षदेखि महासचिवसम्म ओली समूहले अग्रता लिइरहेको संकेत गरेको छ।

अध्यक्ष पदतर्फ वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उल्लेखनीय मत प्राप्त गर्दै प्रतिस्पर्धामा अगाडि छन्। गणनाको यस चरणसम्म उनले ३३३ मत जुटाएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले भने ११० मत पाएका छन्, जसले अध्यक्ष पदको दौडमा स्पष्ट अन्तर देखिएको छ।

यस्तै, महासचिव पदमा पनि ओली पक्षकै उम्मेदवार शंकर पोखरेलले अग्रता बनाएका छन्। उनले अहिलेसम्म २४९ मत प्राप्त गरेका छन्। अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन्, जसले महासचिव पदको प्रतिस्पर्धा अझै खुला रहेको देखाउँछ।

मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी नै छ। तर प्रारम्भिक नतिजाले एमालेको भावी नेतृत्व कुन दिशातर्फ जाँदैछ भन्ने संकेत भने दिन थालेको छ। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र गुटगत राजनीतिले महाधिवेशनलाई थप चासोको विषय बनाएको छ।