श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष विश्वक्रान्ति नामले चिनिने राजकुमार लामालाई औपचारिक रूपमा निलम्बन गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले लामालाई नियन्त्रणमा लिएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

बुधबार बिहान फेसबुकमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष साम्पाङले लामामाथि गम्भीर प्रकृतिका कानुनी मुद्दा देखिएकाले छानबिन टुंगो नलाग्दासम्म पार्टीको जिम्मेवारीबाट अलग गरिएको स्पष्ट पारे। धनकुटा स्थायी घर भई काठमाडौंको कपन क्षेत्रमा बस्दै आएका करिब ५० वर्षीय लामाविरुद्ध २०६८ सालमा काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको मुख्य गेट नजिक टाइम बम विस्फोट गराइएको घटनामा संलग्न भएको आरोप छ।

उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए। प्रहरी अभिलेखअनुसार लामालाई विस्फोटक पदार्थसहित २०६९ सालमा पाँचथरबाट पक्राउ गरिएको थियो। त्यसपछि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनी केन्द्रीय कारागार नख्खुमा थुनामा थिए। २०७६ सालको प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएर उनी रिहा भएका थिए।

तर विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दा भने पाँचथरमै विचाराधीन रहेकाले उनी फरारको सूचीमा रहेको प्रहरीको भनाइ छ। सोही आधारमा हाल उनलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाइएको छ। भिडियो सन्देशमा साम्पाङले लामाको विगतबारे आफूलाई विस्तृत जानकारी नरहेको स्वीकार गरेका छन्। उनका अनुसार लामाले विभिन्न राजनीतिक धार र अभियानमा लामो समय संलग्नता जनाउँदै आएको जानकारी मात्रै आफूलाई थियो।

“कानुनी प्रक्रिया निष्पक्ष रूपमा अगाडि बढोस् भन्ने हाम्रो चाहना हो,” साम्पाङले भनेका छन्, “उहाँ निर्दोष प्रमाणित नभएसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन मिल्दैन भन्ने निष्कर्षमा पुगेका छौं।” अध्यक्ष साम्पाङले सम्बन्धित निकायलाई घटनाको गहिरो र निष्पक्ष अनुसन्धान गर्न आग्रह पनि गरेका छन्।

उनले पार्टी कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्ने स्पष्ट सन्देश दिएका छन्। राजकुमार लामा कुमार, विश्वक्रान्ति र देवराज लामा जस्ता विभिन्न नामबाट चिनिँदै आएका व्यक्ति हुन्। हाल उनीमाथि चलिरहेको अनुसन्धानको नतिजा आउँदासम्म पार्टीले औपचारिक दूरी कायम गर्ने निर्णय गरेको जनाएको छ।