सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो सिजन सुदूरपश्चिम फाइनलमा पुगेको हो। गत सिजन भने उसले जनकपुर बोल्ट्ससँग उपाधि गुमाएको थियो।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। सुदूरपश्चिमका स्कट कुगेइलिन, अभिनास बोहरा र हर्मित सिंहले समान २–२ विकेट लिए।
विराटनगरको ब्याटिङ लाइनअप धराशायी
लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरुवात अत्यन्तै कमजोर रह्यो।पहिलो सात बलमै साम हिजलेट, मार्टिन गप्टिल र नरेन भट्ट आउट हुँदा टोली ३ रनमै ३ विकेट गुमाएर संकटमा पर्यो। फाफ डु प्लेसिसले ३६ रन बनाए पनि उनको इनिङले टोलीलाई बचाउन सकेन। अर्को तर्फ बसिर अहमद, लोकेश बम, नारायण जोशी, प्रतिश जिसी, मर्स्याङ डि लाङ र सन्दीप लामिछाने समेत निराशाजनक प्रदर्शन गर्दै सँगै पेभिलियन फर्किए।
सुदूरपश्चिमले बनायो १५५ रन
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन जोड्यो। ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रनको शानदार अर्धशतक प्रहार गरे। उनले ३ चौका र २ छक्का प्रहार गरे। सहयोगी पारीमा शेल्डन ज्याक्सले २०, इशान पाण्डेले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३, हर्मित सिंहले १४ र आरिफ शेखले २० रन बनाए। विराटनगरका मर्स्याङ डि लाङ र प्रतिश जिसीले २–२ विकेट लिए।
अब उपाधि भिडन्त शनिबार
यस जितसँगै सुदूरपश्चिम रोयल्स शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ। फाइनलमा उसले दोस्रो क्वालिफायरको विजेतासँग मुकाबला गर्नेछ।
विराटनगर भने अब बिहीबार हुने दोस्रो क्वालिफायरमार्फत फाइनलको अवसर खोज्नेछ। बिहीबार खेल्न इलिमिनेटरको विजेता (काठमाडौँ–लुम्बिनीमध्ये) पनि दोस्रो क्वालिफायरमा उक्लिनेछ।