गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पतालबाट संकलन गरिएको तथ्यांकका आधारमा घाइतेहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनका क्रममा देशभरका ९९ वटा अस्पतालमा २ हजार ६३८ जना घाइतेको उपचार गरिएको तथ्यांक प्राप्त भएको छ।

उनका अनुसार सबै अस्पतालबाट विवरण संकलन गर्ने प्रक्रिया चलिरहेकाले केही अस्पतालबाट जानकारी ढिलो आएको कारण सार्वजनिक गर्न पनि ढिलाइ भएको हो। प्रवक्ता बुढाथोकीले अहिले सबै घाइतेहरूको विवरण गृह मन्त्रालयलाई पठाइसकिएको जानकारी दिएका छन्।