मधेशमा रास्वपाभित्र किन बढ्दैछ तनाव ?

Read this article also in : English Hindi

मधेश प्रदेश रास्वपाका लागि यो निर्वाचनको सबैभन्दा ठूलो राजनीतिक उपलब्धिमध्ये एक बन्यो। पार्टी आफैंले पनि कल्पना नगरेको स्तरमा यहाँ मत खस्यो। प्रतिनिधि सभा तर्फ ३२ सिट रहेको मधेशमा रास्वपाले ३१ क्षेत्रमा प्रभावशाली उपस्थिति देखायो भने समानुपातिकतर्फ पनि ठूलो मत प्राप्त गर्‍यो।

तर निर्वाचन सकिएको धेरै समय नबित्दै मधेशमा रास्वपाभित्र असहजता बढ्न थालेको छ। बाहिरबाट हेर्दा नयाँ पार्टी देखिए पनि भित्र पुरानै शैलीको राजनीति दोहोरिन थालेको गुनासो कार्यकर्तामै सुनिन थालेको छ।

जिल्ला तहदेखि प्रदेश संरचनासम्म गुटबन्दी, प्रभाव विस्तार, टिकटको चलखेल र नेताबीच शक्ति संघर्षको अवस्था बढ्दै गएको आरोप छ।

शुक्रबार बारामा देखिएको दृश्यले त्यही असन्तोषलाई खुला रूपमा सतहमा ल्यायो।

बाराको बैठकमै आफ्नै सांसदविरुद्ध नाराबाजी

कलैयाको एक होटलमा चलिरहेको रास्वपाको जिल्ला विस्तारित बैठक अचानक तनावग्रस्त बन्यो जब कार्यकर्ताको एक समूहले त्यहीँ उपस्थित चार जना सांसदविरुद्ध नाराबाजी सुरु गर्‍यो।

स्थिति चर्किन सक्ने अनुमानपछि प्रहरीले हस्तक्षेप गर्नुपर्‍यो। बाराबाट निर्वाचित चारै सांसदलाई सुरक्षा घेरामा राखेर कार्यक्रमस्थलबाट बाहिर निकालियो। बाहिर भने दुई पक्षका कार्यकर्ताबीच धकेलाधकेलको अवस्था बन्यो।

कार्यक्रममा रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह उपस्थित थिए।

विवादको मुख्य कारण केही दिनअघि मात्रै पूर्व जिल्ला सभापति चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीलाई मानिएको छ। पार्टीले उनलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।

बारामा स्वर्णकार संगठनभित्र परिचित र प्रभावशाली पात्र मानिन्छन्। धेरै स्थानीय कार्यकर्ताले उनलाई निर्वाचित सांसदभन्दा बढी संगठन बुझेको नेता भनेर हेर्ने गरेका छन्।

उनका समर्थकहरू भने जिल्ला अधिवेशन नजिकिँदै गर्दा योजनाबद्ध रूपमा उनलाई हटाइएको दाबी गरिरहेका छन्।

नयाँ पार्टीभित्र पुरानै राजनीतिक संस्कार ?

मधेशमा अहिले रास्वपामाथि उठ्न थालेको ठूलो प्रश्न यही हो।

पार्टी नयाँ भए पनि नेतृत्व तहमा रहेका धेरै पात्र विगतमा कांग्रेस, एमाले, माओवादी वा मधेशवादी दलमै सक्रिय थिए। त्यहाँ अवसर नपाएपछि उनीहरू रास्वपामा आएको चर्चा कार्यकर्तामै सुनिन्छ।

तर अहिले आएर उनीहरूले त्यही पुरानो शैली दोहोर्याउन थालेको आरोप छ।

संगठनभन्दा समूह बलियो बनाउने, टिकटलाई प्रभावको माध्यम बनाउने, पदलाई शक्ति प्रदर्शनको साधन बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै कार्यकर्ताहरू असन्तुष्ट देखिन थालेका छन्।

निर्वाचनको लहरले बनेको समर्थनलाई संस्थागत बनाउन नसकिए मधेशमा रास्वपाको अवस्था पनि पुराना दलजस्तै हुनसक्ने चिन्ता पार्टीभित्रै सुनिन थालेको छ।

अमरेश कुमार सिंहले पहिले नै संकेत गरेका थिए

केही दिनअघि सांसद अमरेश कुमार सिंहले एक अन्तर्वार्तामा रास्वपाभित्र बढ्दै गएको असहजताबारे संकेत गरेका थिए।

मधेशबाट जितेका धेरै नेताहरूलाई बालेन शाहको लहर र व्यवस्था विरोधी जनमतले उचालेको मानिन्छ। तर अमरेश सिंह त्यस्ता पात्रमध्ये पर्दैनन्। उनी यसअघि पनि कांग्रेस र स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितिसकेका नेता हुन्।

त्यही अनुभवका आधारमा उनले पार्टीभित्र व्यक्तिगत स्वार्थ र गुटीय राजनीति बढ्न थालेको बताएका थिए।

त्यतिबेला धेरैले त्यसलाई सामान्य टिप्पणी ठाने। तर अहिले बारामा देखिएको घटनाले ती अभिव्यक्तिलाई फेरि चर्चामा ल्याएको छ।

चन्दन स्वर्णकारका आरोप

रास्वपाले स्वर्णकारमाथि आर्थिक अनियमितता गरेको र निर्वाचनका बेला आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय भएको आरोप लगाएको छ।

अनुशासन आयोगको सिफारिसपछि केन्द्रीय समितिले उनीमाथि कारबाही गरेको पार्टीको भनाइ छ।

तर स्वर्णकार भने त्यसलाई राजनीतिक प्रतिशोध मान्छन्।

उनले केही दिनअघि दिएको अन्तर्वार्तामा उम्मेदवार बनाइदिने भन्दै धेरै व्यक्तिसँग आवेदन फाराम भराएर २५–२५ हजार रुपैयाँ उठाइएको आरोप लगाएका थिए।

तर टिकट दिने बेला भने बाहिरबाट आएका नेताहरूलाई प्राथमिकता दिइएको उनको दाबी छ।

उनका अनुसार त्यसबारे पार्टीभित्र लगातार प्रश्न उठाउन थालेपछि निर्वाचित सांसदहरू आफूविरुद्ध लागेको अवस्था बन्यो।

स्थानीय निर्वाचनको तयारीसँगै मेयर र वडा अध्यक्षको टिकट वितरणलाई लिएर पनि विवाद बढिरहेको उनले बताएका छन्।

केन्द्रले मनपरी टिकट नबाड्न निर्देशन दिए पनि केही सांसदले टिकटको आश्वासन बाँडिरहेको प्रमाण आफूसँग रहेको उनको दाबी छ।

जिल्ला अधिवेशनमा आफू सभापतिको दाबेदार बन्न सक्ने देखेपछि योजनाबद्ध रूपमा कारबाही गरिएको उनको बुझाइ छ।

शुक्रबारको विरोध त्यसैको परिणाम भएको उनका समर्थकहरूको भनाइ छ।

स्थानीय चुनावअघि संगठन कब्जाको दौड

प्रहरीको बाक्लो उपस्थितिबीच कार्यक्रम अन्ततः सम्पन्न भयो। तर बाराको घटनाले मधेशमा रास्वपाभित्र सुरु भएको शक्ति संघर्षलाई खुला बनाइदिएको छ।

अहिले पार्टीभित्र मुख्य प्रतिस्पर्धा संगठन र भविष्यको टिकट वितरणमा नियन्त्रण कसको रहने भन्नेमा केन्द्रित देखिन्छ।

रास्वपाको मधेशमा अझै बलियो संगठनात्मक संरचना बनेको छैन। चुनावताका व्यवस्था विरोधी माहोल, युवा आकर्षण र बालेन शाहको प्रभावले पार्टीलाई एकैचोटि ठूलो समर्थन दिलाएको थियो।

तर त्यो लहरलाई स्थायी संगठनमा बदल्ने काम अहिले पार्टीकै लागि चुनौती बन्दै गएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
Google Add as preferred on Google