एक्स्ट्रिम म्युजिक सिरिज सुरु, नौ कलाकारले ल्याउने मौलिक गीत
नेपाली सङ्गीतमा नयाँ पुस्ताका कलाकारलाई आफ्नै शैली र सिर्जनात्मक पहिचान प्रस्तुत गर्ने अवसर दिने उद्देश्यले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरिएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकको पहलमा अक्टोबर १० देखि सुरु भएको यो परियोजनाले मौलिक गीत र नवीन दृश्य प्रस्तुतिमार्फत नेपाली सङ्गीतमा फरक प्रयोगलाई स्थान दिने लक्ष्य राखेको छ।
सिरिजमा नियमित रूपमा नयाँ सामग्री सार्वजनिक गर्ने योजना छ। यसअन्तर्गत प्रत्येक दुई सातामा एउटा मौलिक गीत सार्वजनिक गरिनेछ। गीतसँगै त्यसको सङ्गीत भिडियो पनि एक्स्ट्रिम म्युजिक सिरिजको युट्युब च्यानलमा उपलब्ध हुनेछ।
पहिलो सिजनमा नौ जना कलाकारले आफ्नो सिर्जना प्रस्तुत गर्नेछन्। सहभागी कलाकारमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन छन्। फरक सङ्गीत शैली र व्यक्तिगत सिर्जनात्मक पहिचान भएका कलाकारको सहभागिताले सिरिजलाई विविधतापूर्ण बनाउने अपेक्षा गरिएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा अघि बढाइएको यस परियोजनाको व्यवस्थापन आर्बिट्ररी रेकड्र्सले गरिरहेको छ भने निर्माणको जिम्मेवारी एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले लिएको छ।
परम्परागत सङ्गीत प्रस्तुतिभन्दा बाहिर गएर नयाँ ध्वनि, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्नु सिरिजको मुख्य उद्देश्य हो। यसले स्थापित सङ्गीत प्रवृत्तिभन्दा फरक सोच भएका कलाकारलाई आफ्ना सिर्जना श्रोतामाझ पुर्याउने माध्यम उपलब्ध गराउने अपेक्षा गरिएको छ।
नेपाली सङ्गीतमा नयाँ पुस्ताको सहभागिता र प्रयोग बढिरहेका बेला यस्ता पहलले स्थानीय कलाकारका सिर्जनालाई डिजिटल माध्यमबाट श्रोतासम्म पुर्याउन सहयोग गर्न सक्छन्। नियमित रूपमा मौलिक गीत सार्वजनिक गर्ने योजनाले कलाकारलाई निरन्तर सिर्जनामा जोड्ने र दर्शकलाई नयाँ सङ्गीतसँग परिचित गराउने अवसर पनि प्रदान गर्नेछ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।

