सुनसरीमा १७.३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
सुनसरीको इनरुवाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–४ का ३२ वर्षीय नवीन राई र २९ वर्षीय सुमन राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक १५ गते अपराह्न करिब ४ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार इनरुवा नगरपालिका–४ स्थित बसचोकमा पश्चिमबाट पूर्वतर्फ पैदल जाँदै गरेका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो।
शरीर खानतलासीका क्रममा नवीन राईले मलद्वारमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने १७.३५ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

