चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Read this article also in : English

चिलीको उत्तरी क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्पको तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको हो। प्रारम्भिक विवरणअनुसार मानवीय क्षति वा ठूलो भौतिक नोक्सानीको खबर आएको छैन।

भूकम्प अटाकामा मरुभूमि क्षेत्रमा परेको थियो। यसको केन्द्रबिन्दु कालामा सहरबाट करिब ३१ किलोमिटर टाढा जमिनमुनि करिब १०० किलोमिटर गहिराइमा रहेको बताइएको छ। स्थानीय समयअनुसार साँझतिर धक्का महसुस गरिएको थियो।

चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्पपछि सुनामीको जोखिम नरहेको स्पष्ट पारेको छ। घाइते वा गम्भीर क्षतिको कुनै आधिकारिक रिपोर्ट पनि प्राप्त नभएको जनाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। केही स्थानमा पसलका सामान भुइँमा खसेको दृश्य टेलिभिजनले देखाएका छन्।

प्रशान्त महासागर आसपासको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले चिली विश्वकै बढी भूकम्प जाने देशमध्ये एक मानिन्छ। यहाँ नाज्का, दक्षिण अमेरिकी र अन्टार्कटिक टेक्टोनिक प्लेट आपसमा ठोक्किने भएकाले निरन्तर भूकम्पीय गतिविधि भइरहन्छ।

चिलीले विगतमा पनि विनाशकारी भूकम्पको सामना गरिसकेको छ। सन् १९६० मा भाल्डिभिया क्षेत्रमा गएको ९.५ म्याग्निच्युडको भूकम्पलाई अहिलेसम्मकै शक्तिशाली भूकम्प मानिन्छ। त्यसले ठूलो सुनामी ल्याउँदा हजारौं मानिसको ज्यान गएको थियो।

त्यसपछि सन् २०१० मा ८.८ म्याग्निच्युडको अर्को ठूलो भूकम्पले मध्य चिलीलाई हल्लाएको थियो। त्यसपछिको सुनामीमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
😊
खुसी
90%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
Google Add as preferred on Google