कलैयाको बैठकपछि रास्वपा बारा खुला शक्ति संघर्षमा, विवाद सतहमै छताछुल्ल
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को बारा जिल्ला संगठनभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद अहिले खुला टकरावमा पुगेको छ। शनिबार कलैयामा आयोजित जिल्ला स्तरीय विस्तारित बैठक तनावपूर्ण बनेपछि पार्टीभित्रको अन्तरविरोध सार्वजनिक रूपमै बाहिरिएको हो।
बैठकस्थलमा केही समय चर्काचर्की, नाराबाजी र धक्का-मुक्काको अवस्था सिर्जना भएको भिडियो दिनभर सामाजिक सञ्जालमा भाइरल बने। केही पोस्टमा त पार्टीका सांसदहरूलाई कार्यक्रम स्थलबाट लखेटिएको दाबीसमेत गरिएको थियो।
तर बैठकमा सहभागी रास्वपा सांसदहरूले त्यस्ता दाबीलाई अस्वीकार गर्दै घटनालाई राजनीतिक उद्देश्यका लागि अतिरञ्जित बनाइएको बताएका छन्।
बारा–२ का सांसद चन्दन सिंहले कार्यक्रम अवरोध गर्ने प्रयास भए पनि बैठक निर्धारित ढंगले सम्पन्न भएको बताए। उनका अनुसार पार्टीबाट निष्कासित पूर्व जिल्ला सभापति चन्दन स्वर्णकार निकट समूहले जानाजान कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो।
“बिहानदेखि नै अवरोधको तयारी भइरहेको सूचना हामीसँग थियो। त्यसअनुसार कार्यक्रम सञ्चालन गरिएको हो,” सिंहले भने।
उनले बैठकमा अवरोध सिर्जना गर्ने पाँच जना कार्यकर्तामाथि कारबाही सिफारिससमेत गरिएको जानकारी दिए।
कलैयास्थित करणराज पार्टी प्यालेसमा भएको विस्तारित बैठकमा रास्वपा सांसद रहबर अन्सारी, अरविन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए। बैठकका क्रममा देखिएको विवादले वर्तमान जिल्ला नेतृत्व र पूर्व नेतृत्व निकट समूहबीचको दूरी झन् बढ्दै गएको संकेत दिएको छ।
बैठकमा उपस्थित केही कार्यकर्ताले वर्तमान नेतृत्वले संगठनात्मक निर्णय एकपक्षीय रूपमा गरिरहेको तथा जिल्ला इकाइका संस्थापक सदस्यहरूलाई पाखा लगाइएको आरोप लगाए।
प्रत्यक्षदर्शीहरूका अनुसार केही समय बैठक हलभित्र चर्काचर्की र धक्का-मुक्का भएपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीसमेत परिचालन गरिएको थियो। पछि ती दृश्यहरू सामाजिक सञ्जालमा फैलिँदा सांसदहरू भाग्न बाध्य भएको दाबी गरिएको थियो।
प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले भने उक्त दाबी भ्रामक रहेको बताए।
“हामी केन्द्रको सर्कुलरअनुसार जिल्ला अधिवेशनका लागि सुझाव संकलन गर्न गएका थियौं। पार्टी कारबाहीमा परिसकेका केही नेताहरूले जानाजान अवरोध सिर्जना गरे,” अन्सारीले भने, “मानिसहरू सामान्य रूपमा बाहिरिएको भिडियोलाई सांसद भागेकोजस्तो बनाइयो।”
उनका अनुसार काठमाडौंबाट गएका अतिथिहरूलाई सुरक्षाका कारण केही समय नजिकैको कोठामा राखिएको थियो, तर पछि त्यही दृश्यलाई गलत अर्थ लगाएर प्रचार गरिएको हो।
बारा संगठनभित्र विवाद झन् चर्कियो
रास्वपाको बारा संगठनभित्र पछिल्ला दिनहरूमा विवाद लगातार बढ्दै गएको थियो। विशेषगरी संस्थापक जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि असन्तुष्टि थप सतहमा आएको स्थानीय नेताहरू बताउँछन्।
केन्द्रीय अनुशासन आयोगको सिफारिसपछि पार्टी केन्द्रीय समितिले गत जेठ १३ गते बसेको बैठकबाट स्वर्णकारको सदस्यता रद्द गर्ने निर्णय गरेको थियो।
स्थानीय नेताहरूका अनुसार संगठन विस्तार, नेतृत्व चयन र संस्थापक टोलीको भूमिकालाई लिएर महिनौंदेखि असन्तुष्टि बढ्दै गएको थियो।
शनिबारको घटनाले ती आन्तरिक मतभेद अब जिल्ला संगठनभित्र खुला शक्ति संघर्षमा परिणत भएको स्पष्ट संकेत दिएको छ।
अन्तरिम जिल्ला समिति गठन गर्ने निर्णय
सांसद चन्दन सिंहका अनुसार बैठकले बाराका चारवटै निर्वाचन क्षेत्रबाट पाँच–पाँच प्रतिनिधि समेटेर अन्तरिम जिल्ला समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
उनले अब वडा र पालिका तहको अधिवेशनको तयारी अगाडि बढाइने बताए।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण
ताजा
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?
ताजा
सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री
गणेश नेपालीको निधन
गणेश नेपालीको पीडादायी वास्तविकता
गणेश नेपाली घटनाबारे कुलमानले के भने?
ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का