रवि र जिबि जोडिएको गोर्खा मिडियाको सम्पत्ति लिलाम हुने

Read this article also in : English

काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्दै आएको गोरखा मिडिया नेटवर्क प्रालिलाई १५ दिनभित्र भवन खाली गर्न अन्तिम सूचना जारी गरेको छ। महानगरले मंगलबार सूचना निकाल्दै कानुनबमोजिम सरसामान लगेर भवन खाली गर्न निर्देशन दिएको हो।

महानगरको सूचनामा तोकिएको समयभित्र सामान नलगिए स्थानीय सरकार सञ्चालन ऐन र महानगर विवाद निरुपण कार्यविधिअनुसार लिलाम प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

यो विवाद घरभाडासँग जोडिएको हो। काठमाडौं–३ का घरधनी मृगेन्द्र प्रसाद मिश्रले भाडा नतिरी घर नछाडेको भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईविरुद्ध महानगरको न्यायिक समितिमा निवेदन दिएका थिए।

महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरभाडा, बहाल कर असुल गरी भवन खाली गराउने निर्णय गरेको थियो। त्यसपछि पनि निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि मुद्दा उच्च अदालत पाटनसम्म पुगेको थियो।

उच्च अदालत पाटनले २०८२ साउन २८ गते महानगरपालिकाको नाममा परमादेश जारी गर्दै दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि महानगरको टोली २०८२ कात्तिक १४ गते स्थलमै पुगेर निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाएको थियो।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको छ महिनासम्म पनि सामान नहटाइएपछि घरधनीले फेरि निवेदन दिएका थिए। त्यसकै आधारमा अहिले अन्तिम १५ दिने सूचना जारी गरिएको हो।

सूचनामा गोरखा मिडिया नेटवर्कलाई घरधनीलाई बुझाउनुपर्ने बाँकी बहाल रकम तिर्न र आफ्नो सरसामान लैजान भनिएको छ। अन्यथा भवनभित्र रहेका सामग्री कानुनी प्रक्रियाअनुसार लिलाममा जाने चेतावनी पनि दिइएको छ।

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई सहकारी रकम अपचलन प्रकरणपछि फरार छन्। उनीमाथि सहकारीको रकम गोरखा मिडिया नेटवर्कमार्फत सञ्चालन भएको ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरिएको आरोप छ।

उक्त प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अनुसन्धान र मुद्दा प्रक्रियामा तानिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
20%
😆
उत्साहित
7%
😡
आक्रोशित
Google Add as preferred on Google