पठाओले सुरु गर्‍यो ‘पठाओ हेली’, अब मोबाइलबाटै हेलिकप्टर बुकिङ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
पठाओले सुरु गर्‍यो ‘पठाओ हेली’, अब मोबाइलबाटै हेलिकप्टर बुकिङ

राइड सेयरिङ सेवाबाट सुरु भएको पठाओ नेपालले अब हेलिकप्टर बुकिङ सेवा पनि सञ्चालनमा ल्याएको छ। कम्पनीले सिम्रिक एयरलाइन्ससँग सहकार्य गर्दै ‘पठाओ हेली’ सेवा सुरु गरेको जनाएको छ।

अब प्रयोगकर्ताले पठाओ एप वा ‘पठाओ हेली डट कम’ वेबसाइटमार्फत हेलिकप्टर बुक गर्न सक्नेछन्। कम्पनीका अनुसार एपमै गन्तव्य, मूल्य र सिट विवरण हेरेर सहज रूपमा बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ।

यो सेवा मुख्य रूपमा धार्मिक तथा पर्यटकीय गन्तव्यलाई लक्षित गरिएको छ। मुक्तिनाथ, गोसाईंकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरजस्ता स्थानका लागि हेलिकप्टर उडान उपलब्ध हुने बताइएको छ।

एउटा हेलिकप्टरमा चारदेखि पाँच जनासम्म यात्रा गर्न सक्नेछन्। छोटो समयमै घुमफिर गर्न चाहने, तीर्थयात्रामा जाने, पारिवारिक भ्रमण गर्ने वा नवविवाहित जोडीका लागि यो सेवा उपयोगी हुने कम्पनीको भनाइ छ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले डिजिटल सेवाहरूलाई एउटै प्लेटफर्ममा जोड्दै कम्पनी अघि बढिरहेको बताए। उनका अनुसार मोबिलिटी, पार्सल, फुड डेलिभरी र इ–कमर्सपछि अब हेलिकप्टर सेवा पनि विस्तार गरिएको हो।

नेपाल सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०८५’ लाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।