नेतालाई भगवान नबनाऔँ

Read this article also in : English

पत्रकारलाई पत्रकारको दर्जामा बस्न दिनुहोस्।
अभियन्तालाई अभियन्ताकै दर्जामा बस्न दिनुहोस्।
र नेतालाई नेताकै दर्जामा बस्न दिनुहोस्।

अनि मात्रै पत्रकार, अभियन्ता र नेता जनताप्रति उत्तरदायी हुन्छन् र देशको हितमा काम गर्छन्।

तर हाम्रो देशमा ठ्याक्कै उल्टो भइरहेको छ।

कुनै एक जना पत्रकारले अलिक ठूलो स्वरमा बोल्नेबित्तिकै उसलाई भगवान बनाइदिने।

एउटा अभियन्ताले अरूसँग मागेरै भए पनि दुई–चार रुपैयाँ सहयोग गर्नेबित्तिकै उसलाई भगवान बनाइदिने।

अनि नेताले एक–दुई वटा राम्रो काम गर्नेबित्तिकै उसलाई भगवान बनाइदिने।

अब यति भएपछि इतिहास साक्षी छ — कुनै पनि “भगवान” जनता प्रति उत्तरदायी र जवाफदेही हुँदैन।

किनकि भगवान त भगवान हो।

भगवान जनता के चाहन्छन् भन्नेमा होइन, उसलाई जे सही लाग्छ त्यही गर्छ। अनि नेता, पत्रकार र अभियन्तालाई भए पो खबरदारी गरेर, विरोध गरेर सही ट्र्याकमा ल्याउन सकिएला।

अब भगवान भइसकेपछि त उसलाई केको डर?
अनि फेरि भगवानलाई खबरदारी गर्ने जनताको के औकात?

किनकि नेताको जनता हुन्छ,
तर भगवानको त भक्त हुन्छ।

जनतालाई आफ्नो नेताप्रति चित्त नबुझे गाली गर्न सक्छन्, खबरदारी गर्न सक्छन्, केही सीप नलागे अर्को चुनावमा हराइदिन सक्छन्।

जसले गर्दा नेतालाई पनि राम्रो काम गर्नुपर्छ, देश र जनताको हितमा काम नगरे त सुखै छैन भनेर सोच्न र काम गर्न बाध्य बनाउँछ।

तर भक्तलाई आफ्नो भगवानप्रति चित्त नबुझे —

“लौ न प्रभु, मैले तपाईंको भक्तिमा यति गरेँ तर तपाईंले हेर्नुभएन” भनेर रुने, कराउने र बिलौना गर्नेबाहेक अरू कुनै उपाय हुँदैन।

अनि भगवानलाई ती भक्त रिसाए वा खुसी भए पनि खासै मतलब हुँदैन।

हो, ठ्याक्कै हाम्रो देशमा आजसम्म भइरहेको यही हो।
नेतालाई नेता बन्न नदिएर हामी सधैं भगवान बनाइरहेका छौँ।

जसको नतिजा छर्लङ्ग छ — जुन जोगी आए पनि कानै चिरेको।

त्यसैले मेरा प्यारा जनताहरू, युवाहरू अनि बुद्धिजीवीहरू —

नेतालाई नेता नै बनेर बस्न दिनुहोस्।
पत्रकारलाई पत्रकार नै बनेर बस्न दिनुहोस्।
अनि अभियन्तालाई अभियन्ता नै बनेर बस्न दिनुहोस्।

भक्त भएर होइन,
साँचो नागरिक र जनता बनेर जिउन, सोच्न र बोल्न थाल्नुहोस्।

बस, यति मात्रै गर्न सकियो भने सबै नेताहरू क्रमशः सुध्रँदै जान्छन्। अनि नेताहरू सुध्रिएपछि देश आफैँ बन्न सुरु हुन्छ। अरू केही गर्नै पर्दैन।

मेरो यो कुरामा विश्वास लागेन भने एक घण्टा जति गुगलमा गएर विश्वको इतिहास खोजेर पढ्नुस् त।

जुन–जुन देशका जनताले नेतालाई नेता बनेर बस्न दिए, त्यो देश आज कहाँ पुगेको छ?

अनि जुन–जुन देशका जनताले नेतालाई भगवान बनाए र बनाइरहेका छन्, त्यो देश आज कहाँ र कुन अव्यवस्थामा छ — बस, छर्लङ्ग भइहाल्छ।

किनकि आज मैले भनेका यी कुराहरू कथा वा कहानी होइनन्, तथ्य हुन् अनि सत्य हुन्।

नर्वे, फिनल्याण्ड र स्विडेनबाट सिक्नुपर्ने कुरा

उदाहरणका लागि नर्वेलाई हेर्नुस्। संसारकै विकसित र सुखी देशमध्ये एक मानिने नर्वेमा नेतालाई भगवानजस्तो होइन, जनताले चुनेको जिम्मेवार प्रतिनिधिजस्तो व्यवहार गरिन्छ।

त्यहाँका नेताले गल्ती गरे तुरुन्त मिडियाले प्रश्न गर्छ, जनताले आलोचना गर्छन् अनि आवश्यक परे पद छोड्नुपर्छ।

जनता भक्त होइनन्, सचेत नागरिक छन्।
त्यसैले नेता पनि सधैं जनताप्रति जवाफदेही बन्न बाध्य हुन्छन्।

यही संस्कारले गर्दा नर्वे आज बलियो संस्था, कम भ्रष्टाचार र उच्च जीवनस्तर भएको देश बनेको छ।

यस्तै फिनल्याण्डलाई पनि हेर्नुस्।

त्यहाँ शिक्षा, प्रेस स्वतन्त्रता र पारदर्शितालाई व्यक्तिभन्दा माथि राखिन्छ। नेताको मूल्यांकन उसको क्रेज र सामाजिक सञ्जालको फलोवर्सका आधारमा गरिँदैन, बरु उसले काम कति गर्‍यो भन्ने आधारमा गरिन्छ।

प्रधानमन्त्री साधारण नागरिकसरह सार्वजनिक स्थानमा हिँड्दा पनि मानिसहरू डराएर वा अर्कै ग्रहबाट कुनै एलियन आएको जस्तो अचम्मित र खुसी हुँदैनन्।

बरु त्यसको सट्टा प्रधानमन्त्रीलाई पनि एउटा नागरिककै रूपमा व्यवहार गर्छन्।

त्यहाँ जनताले नेता बदल्न सक्छन् भन्ने विश्वास बलियो छ, त्यसैले नेताले पनि जनतालाई धोका दिन डराउँछन्।

परिणाम — विश्वकै उत्कृष्ट शिक्षा प्रणाली र राम्रो शासन भएका देशहरूको सूचीमा फिनल्याण्ड पर्छ।

यस्तै अर्को उदाहरण स्विडेन हो।

त्यहाँका जनताले कुनै नेतालाई “देश बचाउने भगवान” भनेर होइन, केही वर्षका लागि जिम्मेवारी पाएको कर्मचारीजस्तो मान्छन्।

त्यसैले त्यहाँ सत्ता भन्दा सिस्टम ठूलो हुन्छ।

नेता आउँछन्, जान्छन्, तर देश संस्था र कानूनले चलिरहन्छ।

यही कारण स्विडेनमा लोकतन्त्र बलियो भयो, भ्रष्टाचार कम भयो र जनता सुरक्षित तथा सम्मानित जीवन बाँच्न सफल भए।

आज हामी नेपालमा बसेर स्विडेनको उदाहरण दिनुको कारण पनि यही हो।

यी त केही उदाहरण मात्र हुन्।
विश्वमा यस्ता धेरै देश छन् जहाँ जनताले आफ्नो नेतालाई भगवान होइन, साधारण सेवक ठान्छन्।

जसका कारण आज ती देशहरू विश्वकै उत्कृष्ट सूचीमा पर्छन्।

जब नेता भगवान बन्छन्

अब यस्तै अर्को पाटो पनि छ — जहाँ नेतालाई भगवान मानिन्छ।

उदाहरणका लागि उत्तर कोरिया।

त्यहाँका शासक परिवारलाई दशकौँसम्म सामान्य नेता होइन, लगभग भगवानकै स्तरमा प्रस्तुत गरियो। जनतालाई प्रश्न गर्न, आलोचना गर्न वा फरक विचार राख्न डर लाग्ने अवस्था बनाइयो।

परिणाम के भयो?

आज पनि त्यहाँ जनता स्वतन्त्र रूपमा बोल्न सक्दैनन्, हाँस्न सक्दैनन्।

एक शब्दमा भन्नुपर्दा, आजको यो युगमा पनि त्यहाँका जनता दासयुगजस्तै अवस्थामा छन्, जहाँ नेता शक्तिशाली छन् तर जनता कमजोर।

त्यस्तै इराकमा सद्दाम हुसेनको समयमा पनि नेताको व्यक्तिपूजा चरम स्थितिमा पुगेको थियो।

उनका तस्वीर, भाषण र प्रचारले पूरै देश ढाकिन्थ्यो।
उहाँलाई नेता होइन, भगवानजस्तै मानिन्थ्यो।

जसको नतिजा — देश सिस्टममा नभई एउटा व्यक्तिको भरमा चल्न थाल्यो।

अन्ततः युद्ध, अस्थिरता र विनाशले उक्त देशलाई दशकौँ पछाडि धकेल्यो।

यस्तै उदाहरण लिबियामा पनि देखियो।

त्यहाँका नेता मुअम्मर गद्दाफीलाई वर्षौँसम्म “महान उद्धारकर्ता” जस्तो बनाइयो। जे गरे पनि वाहवाही हुन थाल्यो।

सुरुमा जनताले उनलाई आशाको प्रतीक माने, तर विस्तारै प्रश्न गर्ने ठाउँ हराउँदै गयो। आलोचना गर्नेलाई दुश्मन मानिन थालियो।

अन्ततः उनले आफूलाई भगवान ठान्न थाले।

अनि जब जनताको असन्तुष्टि विस्फोट भयो, देश नै गृहयुद्धमा फस्यो।

आज पनि लिबिया पूर्ण स्थिरतामा फर्किन सकेको छैन।

त्यसैले इतिहासले यही पुष्टि गर्छ —

  • जब कुनै नेतालाई जनताले सेवकको सट्टा भगवान बनाउन थाल्छन्
  • जब नागरिक जनता भक्त बन्न थाल्छन्
  • त्यो देश कहिल्यै उभो लाग्दैन

त्यस्ता नेताले कहिल्यै देश र जनताको हित गर्न सक्दैनन्।

किनकि जब नेतालाई भगवानजस्तो बनाइन्छ, तब उसमा भरपुर घमण्ड पलाउन थाल्छ।

अनि जब घमण्ड पलाउन थाल्छ, तब त्यो नेताले देशलाई आफ्नो बारीको प्लट र नागरिकलाई त्यस बारीका किरा–फट्याङ्ग्रा सम्झिन थाल्छ।

त्यसैले मेरा प्यारा नेपाली हो, समय अझै बाँकी छ।

बेलैमा भक्तबाट बाहिर निस्केर नागरिक बन्नुस् अनि नेतालाई भगवान होइन, नेता नै बनेर बस्न दिनुहोस्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
7%
😡
आक्रोशित
Google Add as preferred on Google