खराब सिजनपछि पांड्याको कप्तानीमाथि प्रश्न

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
खराब सिजनपछि पांड्याको कप्तानीमाथि प्रश्न

आईपीएल २०२६ मा निराशाजनक प्रदर्शनपछि मुम्बई इन्डियन्सभित्र ठूलो परिवर्तनको तयारी सुरु भएको चर्चा चुलिएको छ। लगातार खराब नतिजापछि कप्तान हार्दिक पांड्याको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ भने उनको भविष्यबारे पनि आन्तरिक छलफल भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाँच पटकको च्याम्पियन मुम्बई यस सिजन १४ खेलमध्ये केवल चार खेल जितेर नवौं स्थानमा सीमित भएको थियो। टोलीमा रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र ट्रेन्ट बोल्टजस्ता अनुभवी खेलाडी हुँदाहुँदै पनि अपेक्षित प्रदर्शन हुन सकेन।

कप्तानी परिवर्तनबारे छलफल

फ्रेन्चाइजीसँग निकट स्रोतहरूलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यमले हार्दिकलाई कप्तानको जिम्मेवारीबाट हटाउने सम्भावनाबारे चर्चा भइरहेको बताएका छन्। टोलीको अन्तिम खेलपछि प्रशिक्षक समूहले वरिष्ठ खेलाडीहरूलाई टोलीको रणनीति र डाटा-आधारित सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने सन्देश दिएको पनि उल्लेख गरिएको छ।

यससँगै हार्दिक भविष्यमा कप्तान रहन सक्छन् कि सक्दैनन् भन्ने विषयमात्र होइन, उनी टोलीमै रहने वा नरहनेबारे समेत समीक्षा हुन सक्ने संकेत देखिएको छ।

रोहित शर्माको भूमिका महत्वपूर्ण हुने चर्चा

एनडीटीभीको रिपोर्टअनुसार मुम्बई इन्डियन्सले अर्को कप्तान चयन गर्दा रोहित शर्माको सुझावलाई विशेष महत्व दिने तयारी गरेको छ। यद्यपि रोहित स्वयं फेरि कप्तान बन्ने सम्भावना भने नरहेको दाबी गरिएको छ।

विज्ञापनविकिबिजि

हार्दिकको भविष्य अन्योलमा

रिपोर्टहरूमा हार्दिक र व्यवस्थापनबीच सम्बन्ध सहज नरहेको दाबी पनि गरिएको छ। त्यसकै कारण उनले आगामी सिजनअघि टोली परिवर्तन गर्ने विकल्पसमेत खोज्न सक्ने चर्चा छ। यद्यपि मुम्बई इन्डियन्स वा हार्दिक पांड्याले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।

अबको केही साताभित्र मुम्बई इन्डियन्सले नेतृत्व र टोली संरचनाबारे महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।