श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बाटोमै उनी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा साम्पाङको हातमा सामान्य चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको पार्टी स्रोतले जनाएको छ। चोट लागेपछि पनि उनी निर्धारित कार्यक्रममा सहभागी हुन पुगेका थिए।
घटनापछि पार्टीका वरिष्ठ नेता सुदन किराँतीले सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। उनले दुर्घटनाको खबरले पार्टीका कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई चिन्तित बनाएको उल्लेख गर्दै हाल अवस्था सुधारोन्मुख रहेको बताएका छन्।
किराँतीले साम्पाङ सामान्य चोटपटकपछि पनि दैनिक गतिविधिमा सक्रिय रहेको जनाउँदै अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन्। साथै उनले अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।