काठमाडौँ र चीनको प्रमुख आर्थिक तथा प्रविधि केन्द्र शेन्जेनबीच पहिलो पटक सिधा हवाई सेवा सुरु भएको छ। निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले नियमित उडानमार्फत दुई सहरलाई जोड्दै नेपाल–चीन हवाई सम्पर्कमा नयाँ अध्याय थपेको छ।
शुक्रबार बिहान शेन्जेनबाट १५७ यात्रु बोकेको विमान काठमाडौँ अवतरण गरेको छ। तीमध्ये अधिकांश पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। यसअघि काठमाडौँबाट उडेको पहिलो विमान ९८ यात्रुसहित शेन्जेन पुगेको थियो।
हिमालय एअरलाइन्सका अनुसार काठमाडौँ–शेन्जेन रुटमा सातामा दुई पटक नियमित उडान हुनेछ। काठमाडौँबाट मङ्गलबार र बिहीबार उडान हुनेछन् भने शेन्जेनबाट फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन गरिनेछ।
चीनको ‘सिलिकन भ्याली’ भनेर चिनिने शेन्जेन विश्वका प्रमुख प्रविधि, नवप्रवर्तन र व्यापारिक केन्द्रहरूमध्ये एक मानिन्छ। यही सहरसँग सिधा हवाई पहुँच स्थापित भएपछि नेपालले नयाँ खालका चिनियाँ पर्यटक तथा सम्भावित लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नेपाल पाण्डा इन्टरनेशनल ट्राभल र हिमालय एअरलाइन्सको सहकार्यमा सुरु गरिएको यो सेवा विशेषगरी व्यवसायी, उद्यमी, प्रविधि क्षेत्रका पेशाकर्मी तथा प्राकृतिक र सांस्कृतिक पर्यटनमा रुचि राख्ने चिनियाँ नागरिकलाई लक्षित गरिएको बताइएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार चीनको ठूलो बजारसँग सिधा हवाई पहुँच विस्तार हुँदा नेपाल आउने पर्यटकको संख्या बढ्न सक्छ। त्यसको प्रभाव होटल, ट्राभल, यातायात, हवाई सेवा र अन्य पर्यटनसँग जोडिएका क्षेत्रमा पनि पर्ने अपेक्षा छ।
नेपाल र चीनबीचको पर्यटन तथा व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यसहित सुरु भएको यो उडानलाई नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।