४२ वर्षीय कुमार थापा, जसलाई सामाजिक सञ्जालमा धेरैले “नेपाली ब्रो” को नामले चिन्ने गर्छन्, आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
थापाले विभिन्न युट्युबरहरूलाई दिने अन्तर्वार्ताहरूमा पनि श्रीमतीसँग आफ्नो सम्बन्ध राम्रो नरहेको, आफू बस्ने घरदेखि सबै थोक श्रीमतीकै भएको र चाँडै सम्बन्ध विच्छेद हुन लागेको बताउने गरेका थिए।
भुजेलको हत्या भएपछि उनका आफन्तहरू बालाजु प्रहरी चौकी अगाडि हिजो रातभर प्रदर्शनमा बसेका थिए। आफन्त तथा उनीहरूकै छोराले समेत आमाको हत्या बाबु अर्थात् नेपाली ब्रोले नै गरेको भन्दै सञ्चारमाध्यमसमक्ष बयान दिएका छन्।
ज्यानको खतरा रहेको भन्दै प्रहरीसँग सुरक्षा मागेको दाबी
आफन्त र छोराका अनुसार ईश्वरीले आफ्नो श्रीमान्बाट ज्यानको खतरा रहेको भन्दै पटक–पटक बालाजु प्रहरी चौकीमा सुरक्षा माग्न पुगेकी थिइन्। साथै, उनले नेपाली ब्रोविरुद्ध उजुरी समेत दिएकी थिइन्।
उनीहरूको आरोप अनुसार, कैयौँ पटक नेपाली ब्रोले कुटपिट गर्दा लागेको घाउ बोकेर नै ईश्वरी प्रहरी चौकी पुग्ने गरेकी थिइन्। तर प्रहरीले कारबाही गर्नुको साटो उल्टै “ओहो नेपाली ब्रो” भन्दै अगालो हाल्ने र उजुरीलाई गम्भीर रूपमा नलिएको कारण आज यस्तो घटना हुन पुगेको उनीहरूको गुनासो छ।
यद्यपि, यी आरोपबारे प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।
घटनाको विवरण र अनुसन्धान
बालाजु प्रहरीका अनुसार घटना हिजो राति १० बजेर १० मिनेटतिर भएको हो। ईश्वरी सैनिक सेवामा कार्यरत थिइन्।
प्रहरीका अनुसार शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा घटना भएको हो। ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। पछाडिबाट रडले प्रहार गरेपछि नजिकका प्रत्यक्षदर्शीले उनलाई तत्काल अस्पताल पुर्याएका थिए। तर उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उनको निधन भएको प्रहरीले जनाएको छ।
तर आफन्तहरूले भने नेपाली ब्रोले ईश्वरीको घाँटीमा चक्कु प्रहार गरेको र झण्डै ४ इन्च जति गहिरो घाउ बनेको दाबी गरेका छन्। यसरी हेर्दा पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभएसम्म मृत्युको वास्तविक कारणबारे एकिन गर्न कठिन देखिएको छ।
साथै, आफन्तहरूले नेपाली ब्रोसँगै यस हत्यामा उनका परिवारका सदस्य, आफूलाई झाँकी बताउने प्रकाश भुजेल लगायत अन्य केही व्यक्तिमाथि पनि अनुसन्धान गर्नुपर्ने माग राखेका छन्।
हत्या पछि नेपाली ब्रोलाई हिजो राति नै बालाजुबाट पक्राउ गरी हाल प्रहरी वृत्त बालाजुमै राखिएको छ। घटनाबारे थप अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ।
प्रहरीमाथि पनि छानबिनको माग
यस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ।
यस्तै, आफन्तहरूले आरोप लगाएजस्तै यदि साँच्चिकै ईश्वरीले बालाजु प्रहरी चौकीमा आफ्नो ज्यानको खतरा रहेको भन्दै उजुरी दिएकी थिइन् र चौकीले त्यसलाई बेवास्ता गरेको हो भने, त्यसबारे पनि सत्यतथ्य छानबिन गरी लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही हुनुपर्ने माग गरिएको छ।
उल्लेखनीय छ, केही समयअघि पनि यही घरायसी विवादका कारण नेपाली ब्रो केही दिन प्रहरी हिरासतमा बसिसकेका थिए।
उनी आफूलाई देशको चर्चित खेलाडी भएको दाबी गर्दै विभिन्न युट्युबरहरूसँग अन्तर्वार्ता दिने, विभिन्न महिला टिकटक प्रयोगकर्तासँग बसेर विविध विषयमा कुरा गर्ने, देशमा हुने आन्दोलनहरूमा कहिले कसको समर्थन गर्ने त कहिले कसैको बडिगार्ड भएको दाबी गर्दै हिँड्ने जस्ता गतिविधिका कारण चर्चामा रहने गरेका थिए।
एक शब्दमा भन्नुपर्दा, उनी जसरी भए पनि भाइरल हुनुपर्ने मनसायका व्यक्ति देखिने गरेको चर्चा हुने गरेको थियो।