पछिल्लो केही दिनयता फेसबुक प्रयोगकर्तामाझ एउटा विषय निकै चर्चामा छ। सामाजिक सञ्जालमा धेरैले “अब फेसबुकले कन्टेन्ट मोनिटाइजेशनका लागि २८ दिनभित्र ३ लाख भ्युज पुर्याउनुपर्ने नयाँ र सजिलो मापदण्ड ल्याएको छ” भन्दै स्टाटस, फोटो र भिडियोहरू पोस्ट गरिरहेका छन्।
यही क्रममा फेसबुकले धेरै प्रयोगकर्ताको मोनिटाइजेसन सेक्सनमा “Unlock Content Monetization” शीर्षकसहितको एउटा पप-अप देखाउन थालेको छ। उक्त सूचनामा २८ दिनभित्र ३ लाख भ्युज प्राप्त गर्न सके कन्टेन्ट मोनिटाइजेसनको निम्तो (Invitation) प्राप्त हुन सक्ने उल्लेख गरिएको छ। साथै, उक्त कन्टेन्टले फेसबुकका नीति तथा मापदण्डहरू पालना गरेको हुनुपर्ने सर्त पनि राखिएको छ।
यो सूचना देखेपछि धेरैलाई ३ लाख भ्युज पुगेलगत्तै कन्टेन्ट मोनिटाइजेसन सक्रिय हुन्छ भन्ने लागेको हुन सक्छ। तर वास्तविकता भने त्यस्तो नभएको खोज समाचारको परीक्षणले देखाएको छ।
खोज समाचारले कसरी गर्यो फेसबुकको नयाँ च्यालेन्जको परीक्षण ?
फेसबुकले यो अपडेट सार्वजनिक गरेलगत्तै खोज समाचारले यसको व्यवहारिक परीक्षण सुरु गरेको थियो। परीक्षणका क्रममा सर्वप्रथम “Join Challenge” मा क्लिक गरियो। त्यसपछि खोज समाचारको नयाँ फेसबुक पेजमा एउटा भिडियो अपलोड गरियो।
भिडियोमा भ्युज बढ्दै जाँदा मोनिटाइजेसन च्यालेन्जको बक्समा देखिने भ्युज संख्या पनि त्यही अनुपातमा बढ्न थाल्यो। केही घण्टामै उक्त भिडियोले ३ लाखभन्दा बढी भ्युज प्राप्त गर्यो र फेसबुकले तोकेको मापदण्ड पूरा भयो।
तर आश्चर्यजनक रूपमा ३ लाख भ्युज पूरा भए पनि पेजमा कन्टेन्ट मोनिटाइजेसनको विकल्प भने सक्रिय भएन। अहिले सोही पेजमा गएर हेर्दा ३ लाख भ्युजको सीमा पार गरेर ६ लाख ७० हजारभन्दा बढी भ्युज पुगिसकेको छ। तर अझैसम्म कन्टेन्ट मोनिटाइजेसनको सुविधा उपलब्ध भएको छैन।
बरु, उक्त स्थानमा “You Reached The Goal” भन्ने सन्देश देखिएको छ। त्यसको तल फेसबुकले “हामी तपाईंको कन्टेन्ट समीक्षा गर्नेछौं, र यदि तपाईंका सामग्रीहरूले हाम्रो नीति तथा सर्तहरू पालना गरेको पाइएमा अगस्ट महिनाको अन्त्यसम्ममा मोनिटाइजेसन दिने वा नदिने विषयमा निर्णय गर्नेछौं” भन्ने जानकारी दिएको छ।
खोज समाचारले यो च्यालेन्ज स्वीकार गरेको आज दुई दिन पूरा भएको छ। फेसबुकले देखाएको विवरणअनुसार यो च्यालेन्ज जुन १९ मा सुरु भएर जुलाई १७ मा समाप्त हुने देखिन्छ। तर खोज समाचारले भने दुई दिनभित्रै ३ लाख भ्युजको लक्ष्य पूरा गरिसकेको छ।
यसबाट के देखिन्छ भने कन्टेन्ट मोनिटाइजेसनको निम्तो (Invitation) आउने मिति प्रत्येक पेजको अवस्था, कन्टेन्टको गुणस्तर र फेसबुकको आन्तरिक समीक्षा प्रक्रियाअनुसार फरक–फरक हुन सक्छ।
भोलिका दिनमा फेसबुकले यस सम्बन्धमा थप के–कस्ता अपडेट ल्याउँछ वा खोज समाचारको यो पेजले कति समयभित्र मोनिटाइजेसनको निम्तो प्राप्त गर्छ भन्ने कुरा भने अझै हेर्न बाँकी छ।
तर हालसम्म खोज समाचारले गरेको परीक्षणका आधारमा एउटा कुरा स्पष्ट भएको छ—२८ दिनभित्र ३ लाख भ्युज पूरा गरेलगत्तै कन्टेन्ट मोनिटाइजेसन पाइहालिन्छ भन्ने हल्ला सत्य होइन।
परीक्षणले कम्तीमा अहिलेको अवस्थामा त्यस्तो नभएको प्रमाणित गरेको छ।
३ लाख भ्युजमा भिडियो मात्र गन्ने कि फोटो र स्टाटस पनि ?
यति मात्र होइन, परीक्षणका क्रममा कन्टेन्ट मोनिटाइजेसनसँग सम्बन्धित अर्को महत्वपूर्ण तथ्य पनि फेला परेको छ।
सामान्यतया धेरै प्रयोगकर्ताले ३ लाख भ्युज भन्नाले भिडियो वा रिल्समा आएको भ्युज मात्र बुझ्ने गरेका छन्। तर फेसबुकले सञ्चालन गरिरहेको यो कन्टेन्ट मोनिटाइजेसन च्यालेन्जमा भिडियो वा रिल्स मात्र होइन, फेसबुक पेज वा प्रोफाइलमा पोस्ट गरिएका फोटो, स्टाटस तथा अन्य योग्य (Qualified) कन्टेन्टमा प्राप्त भएका भ्युजहरू पनि गणना हुने देखिएको छ।
किनभने कन्टेन्ट मोनिटाइजेसन केवल भिडियो वा रिल्सबाट आम्दानी गर्ने प्रणाली मात्र होइन। यस अन्तर्गत भिडियो, रिल्स, फोटो, स्टाटस र स्टोरीमा प्राप्त योग्य भ्युजका आधारमा पनि क्रिएटरलाई आम्दानी उपलब्ध गराइन्छ।
अब धेरैको प्रश्न हुन सक्छ—“खोज समाचारको त केही घण्टामै ३ लाख भ्युज पुग्यो, तर हामीले कसरी पुर्याउने ?”
यसमा चिन्ता लिनुपर्ने आवश्यकता छैन। खोज समाचारको जस्तै केही घण्टामै भ्युज नपुगे पनि २८ दिनको अवधिमा ३ लाख भ्युज प्राप्त गर्न सकिन्छ।
२८ दिनभित्र ३ लाख भ्युज पुर्याउन के गर्नुपर्छ ?
यसका लागि सबैभन्दा पहिले अहिले बजारमा कुन विषय ट्रेन्डिङमा छ भन्ने कुरा पहिचान गर्न आवश्यक हुन्छ। उदाहरणका लागि, आजको सन्दर्भमा चितवनमा सञ्चालन भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई लिन सकिन्छ।
आज दिनभर हजारौं क्रिएटर, समाचार संस्था तथा सामान्य फेसबुक प्रयोगकर्ताहरूले रास्वपाको महाधिवेशनसँग सम्बन्धित भिडियो, रिल्स, फोटो, स्टाटस र समाचारहरू पोस्ट गरिरहेका हुन्छन्।
जब ठूलो सङ्ख्यामा एउटै विषयमा सामग्री पोस्ट हुन थाल्छ, फेसबुकको एल्गोरिदमले उक्त विषय ट्रेन्डिङमा रहेको संकेत प्राप्त गर्छ।
त्यसपछि फेसबुकले सो विषयसँग सम्बन्धित सामग्रीहरूलाई एउटै समूहमा विश्लेषण गर्न थाल्छ। कुन सामग्री उपयोगी छ, कुन मौलिक छ, कुन नक्कल गरिएको छ भन्ने छुट्याउने प्रयास गर्छ।
यदि कुनै प्रयोगकर्ताले रास्वपा महाधिवेशनसँग सम्बन्धित एउटा भिडियो ३० सेकेन्ड वा सोभन्दा बढी समय हेरेको छ भने फेसबुकको एल्गोरिदमले उसलाई त्यही विषयसँग सम्बन्धित अन्य सामग्रीहरू पनि देखाउन थाल्छ।
यही ढाँचालाई बुझ्न सक्ने हो भने ट्रेन्डिङ विषयबाट राम्रो पहुँच (Reach) प्राप्त गर्न सकिन्छ। त्यसैले यो च्यालेन्ज स्वीकार गरेको २८ दिनको अवधिभर आज कुन विषय ट्रेन्डिङमा छ भन्ने कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ।
फेसबुकको एल्गोरिदमले कन्टेन्ट कसरी बुझ्छ ?
अब प्रश्न उठ्न सक्छ—फेसबुकलाई तपाईंको कन्टेन्ट कुन विषयमा आधारित छ भन्ने कसरी थाहा हुन्छ ? फेसबुकको एआई तथा एल्गोरिदमले भिडियो वा तस्बिरलाई विश्लेषण गरेर त्यसको विषयवस्तु बुझ्ने प्रयास गर्छ। तर यसले सबै कुरा शतप्रतिशत बुझ्न सक्दैन।
तर तपाईंले पोस्टमा लेख्ने क्याप्सन भने फेसबुकले धेरै स्पष्ट रूपमा बुझ्न सक्छ। त्यसैले ट्रेन्डिङ विषयसँग सम्बन्धित उपयुक्त शब्द तथा किवर्डहरू क्याप्सनमा प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ।
उदाहरणका लागि, यदि आजको ट्रेन्डिङ विषय रास्वपाको महाधिवेशन हो भने “RSP Mahadhiveshan”, “RSP Chitwan”, “Rabi Lamichhane”, “Balen Shah Chitwan” जस्ता सम्बन्धित किवर्डहरू ट्रेन्डिङमा हुन सक्छन्।
यदि तपाईंको कन्टेन्टसँग मेल खान्छ भने यस्ता शब्दहरू क्याप्सनमा प्रयोग गर्दा फेसबुकले तपाईंको सामग्रीको विषयवस्तु बुझ्न सजिलो हुन्छ।
तर क्याप्सन लेख्दा गाली–गलौज, हिंसा, हत्या, बलात्कार, घृणा फैलाउने वा अरूलाई होच्याउने शब्दहरूको प्रयोग गर्न हुँदैन। यस्ता शब्दहरूले कन्टेन्टको पहुँच घटाउन मात्र होइन, मोनिटाइजेसनमा समेत नकारात्मक असर पार्न सक्छन्।
यसबाहेक, सामग्री प्रयोगकर्तासम्म पुग्नु मात्र पर्याप्त हुँदैन। प्रयोगकर्ताले क्लिक गरेपछि कम्तीमा केही सेकेन्डसम्म हेर्नुपर्ने हुन्छ।
त्यसका लागि कन्टेन्टको सुरुमै मुख्य जानकारी प्रस्तुत गर्न आवश्यक हुन्छ।
यदि भिडियो सुरु भएको केही सेकेन्डसम्म “नमस्कार, म फलानो, आज हामी चितवनमा भइरहेको रास्वपाको महाधिवेशनबारे कुरा गर्दैछौं” जस्ता लामो भूमिका बाँध्न थालियो भने धेरै प्रयोगकर्ताले भिडियो छाड्न सक्छन्।
किनभने अधिकांश प्रयोगकर्तासँग लामो भूमिका सुन्ने समय हुँदैन। त्यसैले मुख्य कुरा सुरुमै प्रस्तुत गर्नु प्रभावकारी मानिन्छ।
उदाहरणका लागि, “रास्वपाको प्रथम महाधिवेशनमा बालेन शाह उपस्थित”, “रवि लामिछानेले यसरी गरे महाधिवेशनको उद्घाटन”, “चितवनमा यस्तो दृश्य देखियो” जस्ता मुख्य जानकारी सुरुमै प्रस्तुत गर्दा प्रयोगकर्ता केही समय भिडियोमा रोकिने सम्भावना बढ्छ।
र जब प्रयोगकर्ता ५ देखि १० सेकेन्ड वा त्योभन्दा बढी समयसम्म कन्टेन्टमा रोकिन्छन्, त्यही संकेत फेसबुकको एल्गोरिदमका लागि सकारात्मक मानिन्छ।
यसरी ट्रेन्डिङ विषय, उपयुक्त क्याप्सन, मौलिक कन्टेन्ट र दर्शकलाई सुरुमै आकर्षित गर्ने प्रस्तुतीकरणको संयोजनले २८ दिनभित्र ३ लाख भ्युजको लक्ष्य पूरा गर्न मद्दत गर्न सक्छ।
तर खोज समाचारको परीक्षणले देखाएअनुसार, ३ लाख भ्युज पूरा गर्नु मोनिटाइजेसन प्राप्त गर्ने अन्तिम चरण होइन। त्यो केवल समीक्षा प्रक्रियामा प्रवेश गर्ने एउटा आधार मात्र हो। अन्तिम निर्णय भने फेसबुकको समीक्षा र नीति अनुरूप हुने देखिएको छ।