सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीमा स्थानान्तरण गरिएका सुकुमबासीको अवस्था बुझ्न सरकारका विभिन्न मन्त्रीहरू स्थलगत अवलोकनमा पुगेका छन्। अस्थायी बसोबासमा रहेका परिवारको तत्काल आवश्यकता र दीर्घकालीन व्यवस्थापनबारे जानकारी लिन मन्त्रीहरूको टोलीले खरिपाटी तथा बोडे क्षेत्रका होल्डिङ सेन्टरको निरीक्षण गरेको हो।
गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा पुगेको टोलीमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी सहभागी थिए।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले पनि होल्डिङ सेन्टरको अवस्था अवलोकन गरेका थिए।
मन्त्रीहरूको टोलीले त्यहाँ बसिरहेका सुकुमबासी परिवारसँग प्रत्यक्ष छलफल गर्दै आवास, आधारभूत सेवा र आगामी व्यवस्थापनका विषयमा उनीहरूको धारणा सुनेको थियो। छलफलका क्रममा सरकारले तत्काल गर्न सक्ने काम र स्थायी समाधानका लागि भइरहेको तयारीबारे समेत जानकारी गराइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर मात्रै जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताइन्। प्रक्रिया पारदर्शी र विवादरहित बनाउँदै भविष्यमा प्रश्न उठ्न नसक्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ थियो।
सुकुमबासी समस्या छोटो समयमै समाधान हुने विषय नभएको उल्लेख गर्दै मन्त्री रावलले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचानसहित दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताइन्। उनले सुकुमबासीको संवेदनशील अवस्थालाई राजनीतिक स्वार्थसँग जोडेर प्रयोग नगर्नसमेत आग्रह गरिन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका परिवारलाई खरिपाटीको होल्डिङ सेन्टरमा सारिएको थियो। स्थानान्तरणपछि उनीहरूको बसोबास, सुरक्षा र आधारभूत सेवाको अवस्थाबारे चासो बढिरहेका बेला मन्त्रीहरूको टोली स्थलगत निरीक्षणमा पुगेको हो।
सरकारले तत्कालका आवश्यकता सम्बोधनसँगै भूमिहीन परिवारको पहिचान, पुनःस्थापना र जग्गाधनी प्रमाणपुर्जा वितरणसम्मका विषयलाई समेटेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण
ताजा
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?
गणेश नेपालीको निधन
गणेश नेपालीको पीडादायी वास्तविकता
गणेश नेपाली घटनाबारे कुलमानले के भने?
ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का
‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए