अमेरिका–इरान भिडन्त चर्किएपछि खाडीमा त्रास
विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरान फेरि प्रत्यक्ष सैन्य टकरावमा उत्रिएका छन्। व्यापारिक पानीजहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले इरानभित्र करिब १४० सैन्य लक्ष्यमा प्रहार गरेको छ। त्यसको जवाफमा तेहरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य संरचना लक्षित गरी मिसाइल र ड्रोन पठाएको दाबी गरेको छ।
पछिल्लो घटनाक्रमले केही साताअघि सुरु भएको अस्थायी युद्धविराम मात्र होइन, होर्मुज हुँदै हुने तेल तथा प्राकृतिक ग्यासको ढुवानीसमेत गम्भीर जोखिममा परेको छ। जलमार्ग खुला छ वा बन्द भन्ने विषयमा दुवै देशका दाबी एकअर्कासँग मेल खाँदैनन्।
अमेरिकी सेनाको मध्य कमान्ड—सेन्टकमले शनिबार रातिदेखि आइतबार बिहानसम्म इरानका क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, हतियार भण्डार, सञ्चार प्रणाली र अन्य सैन्य संरचनामा व्यापक आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार कारबाहीको उद्देश्य व्यापारिक जहाज र अन्तर्राष्ट्रिय नौपरिवहनमाथि खतरा सिर्जना गर्ने इरानी क्षमता कमजोर बनाउनु हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘निकै कडा’ प्रहार गरिएको बताएका छन्। एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा उनले दुई देश सम्झौतानजिक पुगेको भए पनि इरानले व्यापारिक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफ दिएको दाबी गरे।
इरानले भने कुनै नयाँ सहमतिमा पुगेको अमेरिकी भनाइ स्वीकार गरेको छैन। उसले जलडमरूमध्यमा नियम उल्लंघन गर्दै अघि बढेको जहाजलाई मात्र निशाना बनाइएको दाबी गरेको छ।
जहाजमा आगलागी, एक भारतीय नागरिक बेपत्ता
ओमानी अधिकारीका अनुसार साइप्रसको झन्डा बोकेको कन्टेनर जहाज ‘जीएफएस ग्यालेक्सी’ होर्मुज जलडमरूमध्यमा आक्रमणमा परेको थियो। घटनापछि जहाजमा आगलागी भएको र एक चालकदल सदस्य बेपत्ता भएको जनाइएको छ।
बेपत्ता व्यक्ति भारतीय नागरिक रहेको विवरण सार्वजनिक भएको छ। संकटको संकेत प्राप्त भएपछि गरिएको उद्धारमा कम्तीमा २३ जना नाविकलाई सुरक्षित निकालिएको ओमानले जनाएको छ।
इरानले जहाज आफ्नो स्वीकृत मार्गभन्दा बाहिरबाट अघि बढेको दाबी गर्दै कारबाही गरेको बताएको छ। तर अमेरिकाले उक्त घटनालाई व्यावसायिक नौपरिवहनमाथिको प्रत्यक्ष आक्रमणका रूपमा व्याख्या गरेको छ।
अमेरिकी सेनाले पछिल्लो एक सातामा यस्तै घटनाको जवाफ भन्दै इरानमाथि तीन चरणमा हवाई आक्रमण गरिसकेको जनाएको छ।
अमेरिकी सैन्य उपस्थितिविरुद्ध इरानको जवाफी हमला
इरानले अमेरिकी आक्रमणको प्रतिकारमा जोर्डन, ओमान, कतार, बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य संरचना लक्षित गरिएको दाबी गरेको छ। संयुक्त अरब इमिरेट्सले पनि आफ्नो आकाशतर्फ आएका मिसाइल र ड्रोन रोकिएको जनाएको छ।
कतारमा इरानी ड्रोन आक्रमण रोक्ने क्रममा एक बालकसहित तीन जना घाइते भएको विवरण आएको छ। ओमान र जोर्डनले पनि आफ्नो क्षेत्रमा प्रहार वा उडान गतिविधि देखिएको बताएका छन्।
कुवेतले आफ्नो दिशातर्फ आएको हतियारबारे सूचना दिएको छ भने यूएईको रक्षा मन्त्रालयले मिसाइल तथा ड्रोन अवरोध गरिएको जानकारी सार्वजनिक गरेको छ।
सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानी आक्रमणबाट अमेरिकी सैनिकलाई गम्भीर चोटपटक नलागेको र महत्वपूर्ण सैन्य क्षति पनि नभएको बताएका छन्।
इरानको संसद्का सभामुख तथा वार्तामा सहभागी प्रमुख नेता मोहम्मद बाघेर कालिबाफले एकपक्षीय सम्झौताको समय सकिएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाले प्रतिबद्धता पालना नगरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
जलडमरूमध्य खुला कि बन्द?
पछिल्लो तनावको केन्द्रमा होर्मुज जलडमरूमध्यको नियन्त्रण छ। इरानको रिभोलुसनरी गार्डले जलमार्ग ‘अर्को सूचना नआएसम्म बन्द’ रहेको घोषणा गरेको छ। तेहरानले शान्ति पुनःस्थापित नभएसम्म आवागमन सामान्य नहुने र आफूले तोकेको मार्ग उल्लंघन गर्ने जहाजमाथि कारबाही हुन सक्ने बताएको छ।
अमेरिकाले भने जलडमरूमध्य बन्द भएको इरानी दाबी अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्प र अमेरिकी सेनाले मार्ग सञ्चालनमै रहेको बताएका छन्। सेन्टकमले नौपरिवहन स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकी सेना तयारी अवस्थामा रहेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार पछिल्लो एक सातामा १४० भन्दा बढी जहाज जलडमरूमध्य हुँदै पार भएका छन्। अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय संयन्त्रले पनि ओमान र इरान दुवैतर्फको समुद्री मार्गमा आवागमन जारी रहेको, तर सामान्यभन्दा निकै कम भएको जनाएको छ।
द्वन्द्व सुरु हुनुअघि दैनिक करिब १४० जहाजले यो मार्ग प्रयोग गर्ने गरेका थिए। अहिले अमेरिकाले एक सातामा त्यति जहाज पार भएको तथ्य प्रस्तुत गरिरहेको छ। यसले मार्ग पूर्ण रूपमा बन्द नभए पनि व्यावसायिक जहाज सञ्चालनमा गम्भीर असर परेको देखाउँछ।
इरानको अडानअनुसार होर्मुज पार गर्ने सबै जहाज उसका क्षेत्रीय जलक्षेत्र हुँदै, उसैले स्वीकृत गरेको मार्गबाट जानुपर्छ। अमेरिकाले भने अन्तर्राष्ट्रिय नौपरिवहनका सबै मार्ग खुला हुनुपर्ने बताउँदै आएको छ। यही विवाद शान्ति वार्ताको सबैभन्दा जटिल विषय बनेको छ।
अस्थायी सहमति संकटमा
अमेरिका र इरानबीच जुन १७ मा ६० दिनका लागि अन्तरिम समझदारी भएको बताइएको थियो। त्यस अवधिमा स्थायी रूपमा युद्ध अन्त्य गर्ने सहमति खोज्ने लक्ष्य राखिएको थियो। तर सम्झौता अवधिको मध्यबिन्दु नजिकिँदै गर्दा दुवै पक्ष एकपछि अर्को सैन्य आक्रमणमा उत्रिएका छन्।
इरानले नयाँ सम्झौता भएको पुष्टि गरेको छैन। राष्ट्रपति ट्रम्पले भने सप्ताहन्तमा दुई पक्ष सहमतिनजिक पुगेको दाबी गर्दै आएका छन्। उनको भनाइ सार्वजनिक भएको केही समयमै जहाजमाथि आक्रमण र त्यसपछि व्यापक अमेरिकी कारबाही भएको हो।
दुवै पक्षबीच विश्वासको संकट थप गहिरिएको छ। तेहरानले थप अमेरिकी आक्रमण भए क्षेत्रका अन्य सैन्य अखडालाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको छ। वासिङ्टनले भने इरानी गतिविधि जारी रहे सैन्य कारबाही नरोकिने संकेत दिएको छ।
तनाव बढिरहेका बेला इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति ट्रम्पबीच सार्वजनिक धम्कीको आदानप्रदानसमेत भएको छ। मोजतबाले आफ्ना पिता तथा पूर्ववर्ती आयातोल्लाह अली खामेनीको मृत्युको बदला लिने बताएका छन्। इरानले अली खामेनीको मृत्यु युद्धको प्रारम्भमा भएको अमेरिकी–इजरायली आक्रमणसँग जोड्दै आएको छ।
ऊर्जा बजारमा नयाँ अनिश्चितता
होर्मुज जलडमरूमध्य विश्व ऊर्जा व्यापारका लागि निर्णायक मार्ग हो। द्वन्द्वअघि विश्व बजारमा कारोबार हुने तेल र प्राकृतिक ग्यासको करिब पाँच भागको एक भाग यही बाटो हुँदै ढुवानी हुने गरेको थियो।
समुद्री आवागमन घट्दै जाँदा ऊर्जा बजारमा फेरि मूल्यवृद्धिको दबाब बढ्न सक्ने चिन्ता छ। अन्तर्राष्ट्रिय बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेल पछिल्लो साता प्रतिब्यारेल करिब ७६ अमेरिकी डलरमा बन्द भएको थियो, जुन युद्धअघिको स्तरभन्दा झन्डै पाँच प्रतिशत बढी हो। द्वन्द्वको उच्च तनावका बेला तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको विवरण छ।
इरानका दक्षिणी तटीय क्षेत्रमा रातभर विस्फोट सुनिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। बन्दर अब्बास, सिरिक, चाबहार, जास्क, असालुयेह, बन्दर–ए–देयर र बुसेहर आसपासका सैन्य तथा ऊर्जा संरचना भएका क्षेत्रलाई निशाना बनाइएको विवरण आएको छ। इरानी सञ्चारमाध्यमले एक नौसैनिक अधिकारी मारिएको जनाएको भए पनि क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन।
होर्मुजमा कसको नियम लागू हुने भन्ने विवाद अब कूटनीतिक वार्ताको विषयमा सीमित छैन। व्यापारिक जहाज, खाडी क्षेत्रका सर्वसाधारण र विश्व ऊर्जा बजारसमेत यसको प्रत्यक्ष प्रभावमा परेका छन्। दुवै पक्ष पछि नहट्ने संकेत गरिरहेका बेला अस्थायी युद्धविराम पूर्ण रूपमा भंग हुने जोखिम झन् बढेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
इरानको ठूलो कदम : विश्व तेल आपूर्तिको मुख्य ढोका हर्मुज बन्द
उत्तराखण्डमा भीषण वर्षा: तीन जिल्लामा रेड अलर्ट, १०७ सडक अवरुद्ध
दलाई लामा प्रकरण: नेपाल महाशक्ति राष्ट्रहरूको चेपुवामा पर्ने खतरा
अमेरिका–इरान तनाव चर्किँदा तेलको मूल्य उकालो, भारतसहित विश्व बजारमा बढ्यो चिन्ता
नेपालीले भारतमा आधार कार्ड र प्यान कार्ड बनाउनु अपराध हो कि होइन?
जर्मनीको स्टाडेमा गोलीकाण्ड, ६ जनाको मृत्यु
भेनेजुएलाका भूकम्पपीडितका लागि नेयमारको २ लाख ५० हजार डलर सहयोग