शिक्षा अधिकृतमाथि मोबिल खन्याउने घोराही–१५ का वडा सदस्य पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
शिक्षा अधिकृतमाथि मोबिल खन्याउने घोराही–१५ का वडा सदस्य पक्राउ

घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरेको आरोपमा वडा सदस्य लेखनाथ बुढाथोकी पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य बुढाथोकीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर केसीका अनुसार उनीमाथि अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ।

बुढाथोकीले शनिबार घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुरको व्यवस्थापन समिति निर्वाचनसँग जोडिएको विवादमा शिक्षा अधिकृत बोहरामाथि दुर्व्यवहार गरेका थिए।

विद्यालयको गेटनजिक मोटरसाइकलमा रहेका बोहरालाई रोकेर उनले प्लास्टिकको बोतलमा राखिएको मोबिल शरीरमा खन्याएका थिए। त्यसपछि बोतलसमेत प्रहार गरेको दृश्य सार्वजनिक भएको भिडियोमा देखिन्छ।

घटनाको भिडियो बुढाथोकी आफैंले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए। सार्वजनिक पदमा रहेका व्यक्तिले सरकारी कर्मचारीमाथि सडकमै गरेको व्यवहारको आलोचना बढेपछि प्रहरीमाथि कारबाहीको दबाब परेको थियो।

विवादको केन्द्रमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन छ। निर्वाचन नियमविपरीत हुन लागेको दाबी गर्दै बुढाथोकीले त्यसलाई रोक्न माग गरेका थिए। उनले असार २३ गते घोराही उपमहानगरपालिकाको कार्यालयमा निवेदनसमेत दिएका थिए।

निवेदनपछि उपमहानगरपालिकाले असार २५ गते विद्यालयलाई पत्र पठाउँदै निर्वाचनका विषयमा उठेको प्रश्नबारे छानबिन गर्न र नियमअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको थियो। तर बुढाथोकीले निर्वाचन तत्काल रोक्न दबाब दिँदै आए पनि शिक्षा अधिकृत बोहराले त्यसअनुसार निर्णय नगरेको बताइएको छ।

विवाद र दुर्व्यवहारबीच विद्यालय व्यवस्थापन समितिको निर्वाचन भने सम्पन्न भइसकेको छ। प्रहरीले घटनामा संलग्न बुढाथोकीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।