नेपालकी उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
नेपाल र अष्ट्रेलियाबीचको व्यापारिक सम्बन्धलाई थप सन्तुलित बनाउने तथा लगानी र पर्यटनका नयाँ सम्भावना पहिल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच छलफल भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्धसँगै आर्थिक सहकार्यका विभिन्न पक्षबारे कुराकानी भएको हो। पछिल्लो समय दुई देशबीच भइरहेको आयात–निर्यातको अवस्थाको समीक्षा गर्दै व्यापारलाई प्रभावकारी र दुवै पक्षका लागि लाभदायी बनाउने उपायमा जोड दिइएको मन्त्रालयले जनाएको छ।
भेटमा राजदूत अर्न्स्टले मन्त्री यादवलाई सफल कार्यकालको शुभकामना दिँदै नेपालको वर्तमान सरकारसँग सहकार्य गर्दै अघि बढ्न अष्ट्रेलिया इच्छुक रहेको बताउनुभयो। सरकारका आर्थिक तथा विकाससम्बन्धी प्राथमिकतामा सम्भावित साझेदारीका क्षेत्र पहिचान गर्न अष्ट्रेलियन पक्ष तयार रहेको उहाँको भनाइ थियो।
छलफलमा अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायलाई दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारको महत्वपूर्ण सेतुका रूपमा उपयोग गर्न सकिने विषयले पनि स्थान पाएको छ। नेपाली डायस्पोरामार्फत व्यापारिक सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा नेपालमा लगानी आकर्षित गर्न सकिने सम्भावनाबारे दुवै पक्ष सकारात्मक देखिएका छन्।
मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा आपसी समझदारी र सहकार्य थप मजबुत हुँदै जाने तथा नेपाल–अष्ट्रेलियाबीचको आर्थिक र व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

