गोलभेँडा ८ रुपैयाँ, बजार नपाएपछि सडकमा किसान

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
गोलभेँडा ८ रुपैयाँ, बजार नपाएपछि सडकमा किसान

देशकै प्रमुख तरकारी कारोबार केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारमा स्थानीय गोलभेँडाको थोक मूल्य न्यून तहमा झरेसँगै किसानको असन्तुष्टि चर्किएको हो। बजारमा व्यापारीले नेपाली गोलभेँडा किन्न आनाकानी गर्ने र खरिद गरे पनि अत्यन्त कम मूल्य प्रस्ताव गर्ने अवस्था बनेपछि किसानहरू स्वतःस्फूर्त विरोधमा सहभागी भएका छन्।

किसानहरूका अनुसार उत्पादन लागत निरन्तर बढिरहेको छ। बीउ, मल, विषादी, सिँचाइ, मजदुरी र ढुवानीमा भएको खर्च जोड्दा हाल बजारबाट प्राप्त हुने मूल्यले लगानीको सानो हिस्सा पनि धान्दैन। बिक्री नभएको गोलभेँडा बारीमै कुहिने वा सडकमा फाल्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको दैनिक थोक मूल्य विवरणले पनि स्थानीय उत्पादकले भोगिरहेको दबाब देखाउँछ। समितिको तथ्यांकअनुसार सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रतिकिलो आठ रुपैयाँ र अधिकतम मूल्य १२ रुपैयाँ कायम भएको छ। यसको औसत थोक मूल्य प्रतिकिलो नौ रुपैयाँ ५० पैसा छ।

टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो १४ रुपैयाँ ६० पैसा रहेको छ भने ठूलो नेपाली गोलभेँडाको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा तोकिएको छ।

थोक बजारमा स्थानीय गोलभेँडाको मूल्य प्रतिकिलो १० रुपैयाँभन्दा तल झर्दा प्रत्यक्ष उत्पादक किसानको हातमा पुग्ने रकम अझ कम हुने किसानहरूको भनाइ छ। अर्कोतर्फ उपभोक्ताले खुद्रा बजारमा तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपरिरहेको छ। उत्पादनस्थलदेखि उपभोक्तासम्मको मूल्य अन्तरले कृषि बजारको वितरण प्रणालीमाथि पनि प्रश्न उठाएको छ।

विज्ञापनविकिबिजि