भाइरल शिक्षक–विद्यार्थी भिडियोबारे बोल्यो खावालुङ विद्यालय 

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भाइरल शिक्षक–विद्यार्थी भिडियोबारे बोल्यो खावालुङ विद्यालय 

केही दिनअघि सामाजिक सञ्जालमा खावालुङ विद्यालयका एक विद्यार्थीमाथि शिक्षिकाले लौरो प्रहार गर्दै डर–त्रास देखाएको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो बाहिरिएपछि बालबालिकामाथि विद्यालयभित्रै भएको व्यवहारलाई लिएर चौतर्फी आलोचना र विरोध भएको थियो।

यस विषयमा खोज समाचारले पनि भिडियोमा देखिएको दृश्य, शिक्षिकाले बोलेका गम्भीर अभिव्यक्ति तथा विद्यालय र बालबालिकाको सुरक्षासँग जोडिएका प्रश्न उठाउँदै समाचार प्रकाशित गरेको थियो। समाचार सार्वजनिक भएपछि अहिले खावालुङ विद्यालय प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

विद्यालय प्रशासनले २०८३ असार ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमा भिडियो पुनः सार्वजनिक भएपछि घटनाबारे भइरहेको चर्चाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

विद्यालयका अनुसार सामाजिक सञ्जालमा पुनः सार्वजनिक भएको भिडियो एक वर्षअघिको घटनासँग सम्बन्धित हो। उक्त घटना अघिल्लो शैक्षिक वर्षमा भएको र त्यसबारे जानकारी पाएलगत्तै विद्यालय प्रशासनले आन्तरिक नीति, प्रचलित कानुन तथा बाल संरक्षणसम्बन्धी व्यवस्थाअनुसार आवश्यक छानबिन गरेको जनाएको छ। छानबिनपछि सम्बन्धित व्यक्तिमाथि आवश्यक प्रशासनिक कारबाही गरिएको विद्यालयको दाबी छ।

“यस घटनासँग सम्बन्धित कर्मचारी हाल खावालुङ विद्यालयमा कार्यरत हुनुहुन्न,” विज्ञप्तिमा भनिएको छ।

विज्ञापनविकिबिजि

विद्यालयले घटनाबाट सिकाइ लिँदै विद्यार्थी सुरक्षासम्बन्धी नीति, कर्मचारी आचारसंहिता, निगरानी प्रणाली तथा गुनासो व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाइएको जनाएको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन बाल संरक्षण नीति र आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने, शिक्षक तथा कर्मचारीलाई नियमित अभिमुखीकरण दिने र प्रभावकारी अनुगमन प्रणाली सञ्चालन गर्ने प्रतिबद्धता पनि विद्यालयले व्यक्त गरेको छ।

विद्यालयले विद्यार्थीको सुरक्षा, सम्मान, अधिकार र समग्र कल्याण आफ्नो सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षित, समावेशी, मर्यादित तथा बालमैत्री शैक्षिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताएको छ।

कारबाहीबारे विस्तृत विवरण भने सार्वजनिक भएन

विद्यालयले सम्बन्धित कर्मचारीमाथि प्रशासनिक कारबाही गरिएको बताए पनि कारबाहीको प्रकृति के थियो, कर्मचारीलाई पदबाट हटाइएको हो वा उनले आफैँ विद्यालय छाडेकी हुन् भन्ने स्पष्ट पारेको छैन।

त्यस्तै, घटनाको ठ्याक्कै मिति, आन्तरिक छानबिनमा संलग्न व्यक्तिहरू, छानबिनको निष्कर्ष तथा पीडित विद्यार्थीको हालको अवस्थाबारे पनि विज्ञप्तिमा विस्तृत जानकारी दिइएको छैन।

घटनाबारे प्रहरी, स्थानीय सरकार वा बालअधिकारसम्बन्धी निकायबाट छुट्टै छानबिन भएको वा नभएको विषयसमेत विद्यालयको विज्ञप्तिमा उल्लेख छैन।

विद्यालयले घटनाबारे चासो व्यक्त गर्ने अभिभावक, विद्यार्थी, सम्बन्धित निकाय, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा विद्यार्थीको सर्वोत्तम हितलाई केन्द्रमा राखेर जिम्मेवार शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

विद्यालयको विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीको सुरक्षा, सम्मान र समग्र कल्याण नै हाम्रो पहिलो प्राथमिकता हो।