सप्तकोशी उर्लियो, कोसी ब्यारेजका २१ ढोका खोलिए

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सप्तकोशी उर्लियो, कोसी ब्यारेजका २१ ढोका खोलिए

पूर्वी नेपालमा निरन्तर वर्षा भइरहँदा सप्तकोशी नदीको बहाव तीव्र रूपमा बढेको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ६३ हजार २३० क्युसेक पानी मापन गरिएको छ। बहाव अझै बढ्न सक्ने देखिएपछि नदी आसपासका क्षेत्रमा डुबान र कटानको जोखिम पनि चुलिएको छ।

सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको मात्रा थप बढ्न सक्छ।

विज्ञापन
khoj2

बढ्दो बहावलाई निकास दिन कोसी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएका छन्। ब्यारेजमा ५२ वटा मुख्य ढोका र नहरतर्फका चारवटा ढोका छन्।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ। बुधबार मापन गरिएको बहाव उक्त जोखिम तहभन्दा माथि पुगेको हो।

मनसुनका बेला सप्तकोशीको बहावमा आउने तीव्र परिवर्तनले नेपालका तटीय बस्ती मात्र होइन, भारततर्फका क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले नदीको अवस्थालाई चासोका साथ हेरिन्छ। विशेषगरी असार, साउन र भदौमा पूर्वी पहाडी क्षेत्रमा हुने वर्षाले नदीको सतह बढाउँदा तटीय भूभागमा कटान र डुबानको खतरा बढ्ने गर्छ।

सप्तकोशीमा तमोर, अरुण, सुनकोशी, दूधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ। सुक्खायाममा फराकिलो बालुवाको मैदानजस्तो देखिने यो नदी वर्षा सुरु भएपछि भने ठूलो जलराशिसहित उग्र बन्ने गर्छ।

वर्षा जारी रहेकाले नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आवश्यक देखिएको छ।